स्वास्थ्य

ख्वप तिलगंगा आँखा अस्पतालमा विशिष्टकृत शल्यक्रिया सेवा शुरु

ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरमा विशिष्टकृत शल्यक्रिया सेवा शुरु भएको छ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ तथा अकुलर अंकोलाजी एवं अकुलोप्लाष्टी विभागका प्रमुख डा. पुर्णिमाराज कर्णिकार स्थापितद्वारा सञ्चालित अस्पतालमा पहिलो पटक अकुलोप्लाष्टी रोग सम्बन्धि शल्यक्रिया सफलताका साथ सम्पन्न भएको हो।

ख्वप तिलगंगा आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. सुदीपलाल राजभण्डारीको नेतृत्वसमा शल्यक्रिया सफलताका साथ सम्पन्न भएको अस्पतालले जनाएको छ।

डिसिआर, डिसिटी, लिड मास, इन्टोपिअन जस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले उक्त दिन शल्यक्रिया गराएका थिए। अबका दिनमा अकुलोप्लाष्टी सम्बन्धि शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले ख्वप तिलगंगा आँखा अस्पतालबाटै शल्यक्रिया सुबिधा नियमित रुपमा पाउने जनाइएको छ।

सामुदायिक आँखा केन्द्रको रुपमा भक्तपुर नगरपालिका, तिलगंगा आँखा प्रतिष्ठानबिचको सहकार्य र हिमालय क्याटरयाक्ट परियोजनाको आर्थिक सहयोगमा नेपाल आँखा कर्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशालाको शाखाको रुपमा सन् २००६ मा स्थापना भएको हो।

आँखा केन्द्रले सेवा शुरु गरेको १३ वर्षपछि अर्थात सन २०१९ मा स्ट्यान्डर्ड चार्टर्डको सिइङ इज बिलिभिङ कार्यक्रमकोे सहयोगमा आँखा केन्द्रको स्तरउन्नती भई ख्वप तिलगंगा आँखा अस्पताल परिणत भएको थियो।

अस्पतालले ख्वप अस्पतालको चौथो तलाबाट दैनिक बिहान ८ बजेदेखि बेलुका ४ः३० बजेसम्म सेवा दिदै आएको छ। अस्पतालले बाह्य कार्यक्रम अन्तर्गत एकदिने समुदायलाई लक्षित गरी सामुदायिक आँखा शिविर र बिद्यालयलाई लक्षित गरी बिद्यालय आँखा जाँच शिविर संचालन गर्दै आएको छ।

एकजना नेत्र रोग विशेषज्ञसहित १८ जना कर्मचरीबाट सेवा दिँदै आएको अस्पतालमा हालसम्म ४ लाख भन्दा बढी सेवाग्राहिले सेवा लिइसकेको आँखा अस्पतालका ईन्चार्ज धिरज अधिकारीले बताए।

आगामी दिनहरुमा आँखा सम्बन्धि सेवाहरु अझै थप्दै जाने र विशिष्टिकृत सेवाहरु पनि ख्वप तिलगंगा आँखा अस्पतालबाटै उपलब्ध गराउने योजना रहेको उनले बताए।

प्रकाशित: ९ कार्तिक २०८१ ०९:४३ शुक्रबार

#ख्वप तिलगंगा आँखा अस्पताल