स्वास्थ्य

खलंगामा आँखा शिविरः गाउँमै आँखा जचाउन पाउँदा स्थानीय खुशी

जुम्लाको पातारासी गाउँपालिका–७ रिनी गाउँका ७१ वर्षिय कालिबहादुर खड्काले आँखा देख्न पाएपछि खुशी व्यक्त गरेका छन्।

गाउँमै भएको आँखा शिविरमा जाँच गराएपछि उनको आँखाको दृष्टि फर्किएको हो।

उनले भने, ‘एक वर्ष भयो आँखा देख्न छोडेको थियो। लठ्ठीको सहारामा भित्र बाहिर गर्ने गरेको छु। बल्ल आज घरदैलोमै आएको शिविरबाट राहत पाएँ।’

उनले घर आगनमै आँखाको शल्यक्रिया भएपछि बाँकी जीवन जिउन सहज हुने बताए।

र्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ। गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरूका लागि वरदान सावित हुने गर्छ।

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित नेपाल नेत्र ज्योति सङ्घ आँखा चन्दननाथ आँखा अस्पतालले तिन दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरेको थियो। सो शिविरमा एक सय जनाले आँखाको शल्यक्रिया गराए।

पहिलो दिन ३७, दोस्रो दिन ३८ र अन्तिममा दिन २५ जनाको शल्यक्रिया गरिएको थियोे। उनीहरूले वर्षौँदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे। तिला–४ का ७७ वर्षीया वीर बहादुर शाहीले पनि आँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए।

सदरमुकाममै उपचार पाएपछि उनले भने, ‘धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन्, तर अहिले आफ्नो नजिकैको बजारमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु।’  

उनी मात्र होइन सोही शिविरमा–६१ वर्षका लालसिंह बोहोराले पनि शल्यक्रिया गराए। उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छन्। ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहुँदा वर्षौँदेखि सास्ती खेप्न बाध्य छन्। आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झन्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति संघ जुम्लाका सभापति जगदीश चौलागाईले बताए।

छिमेकी जिल्ला कालिकोटका–८२ वर्षीय मीन बहादुर शाही आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहेका थिए। तर, शिविरमा शल्यक्रिया गराए पछि स्पष्ट आँखा देख्ने भएका छन्।

तीन दिन सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै जुम्ला बेलाबखतका सरोकोरावालासँग समन्वय गरी आँखा शिविर सञ्चालन हुँदै आएको सभापति जगदीशले बताए।

जुम्लाको कनाकासुन्दरी गाउँपालिकाको मन्जाउमा,सिंजा नराकोट,हिमाको कालिखेतु र पातारासी गाउँपालिकाको लासीमा आँखा उपचार उप केन्द्र सञ्चालित छन् भने तिला र तातोपानी गाउँपालिकामा सञ्चालन हुने तयारी भइरहेको छ।

नेपाल नेत्र ज्योति संघ जुम्लाको आयोजना, रिडले आई फाउन्डेसन नेपालको आयोजना र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा सञ्चालन भएको तिनदिने आँखा शिविरमा ६ सय ११ जनाले उपचार गराएको आई वर्कर दलबहादुर महताराले बताए।

शिविरमा नेत्र विशेषज्ञ डा डाक्टर हेमचन्द्र झा लगायतको टोलीले शल्यक्रिया गरेको थियो।  

प्रकाशित: ९ कार्तिक २०८१ ०९:३९ शुक्रबार

#Jumla #eye camp