नेपाल नेत्र ज्योति सङ्घ उदयपुरले सञ्चालनमा ल्याएको मदन भण्डारी आँखा अस्पतालबाट २ लाख १० हजारबढी बिरामीले उपचार सेवा लिएका छन्। सङ्घले विहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
‘प्राथमिक आँखा उपचार केन्द्र’ ०६० सालमा स्थापना गरी २०६५ साल (सन् २००८) देखि सञ्चालनमा आएको हो। पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भागवत राउतले अहिलेसम्म १ लाख ४६ हजार महिला, ९५ हजार ७ सय ६९ पुरुष र ३१ हजार १ सय १२ बालबालिकाले सेवा पाएको जानकारी दिए ।
कोठा भाडामा लिएर आँखा जँचाउन थालेको नेत्र ज्योति सङ्घ अहिले सुविधासम्पन्न आफ्नै भवनमा सञ्चालनमा छ। पछिल्लो समय ‘मदन भण्डारी आँखा अस्पताल’ नामबाट सञ्चालन भइरहेको सङ्घले विभिन्न स्थानमा शिविर सञ्चालन गरेर बिरामीहरुलाई सेवा दिँदै आएको छ।
अध्यक्ष राउतले आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्धेश्यसहित नयाँ योजनाहरु बनाएको जानकारी दिए। नयाँ योजनाअनुसार सरदरमा मासिक १ पटक सञ्चालन हुदै आएको मोतियाविन्दुको शल्यक्रिया (अप्रेसन) सेवा विरामीको चापअनुसार कम्तीमा पाक्षिक बनाउने, प्राथमिकतहको उपचार सेवालाई माध्यमिकतहमा स्तरोन्नति गर्न आवश्यक सम्पूर्ण उपकरणको प्रवन्ध मिलाउने, वार्षिक १५ वटा विद्यालयमा आँखा जाँच शिविर राख्ने र समस्या पाइए निःशूल्क चश्मा वितरण गर्ने लगायत छन् । अध्यक्ष राउतले भिन्नभिन्न ठाउँमा शिविर राखेर पहिचान भएका बिरामीको निःशूल्क शल्यक्रिया गर्ने योजना पनि अघि बढाइएको जानकारी दिए।
सङ्घले समुदायस्तरसम्म सोझो सम्पर्क र पहँुच पुग्ने भएकाले स्वास्थ्य स्वयम्सेविका र शिक्षक शिक्षिकालाई आँखा स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम दिने भएको छ । कैदीबन्दी, जेष्ठ नागरिक र अति बिपन्न समुदायको आँखा जाँचसहितको निःशूल्क चश्मा वितरण कार्यलाई निरन्तरता दिने, अस्पतालमा अपाङ्गतामैत्री र्याम्प निर्माण गर्ने योजना अस्पतालको छ। अस्पतालमा बिरामी तथा कुरुवाका नवजात शिशुलाई दुध खुवाउन खेलौना सहितको स्तनपान कक्ष निर्माण भईसकेको अध्यक्ष राउतले बताए।
आँखा अस्पताललाई अध्यक्ष राउतले ‘उदयपुरको दृष्टिकुञ्ज’को सङ्ज्ञा दिदै यत्तिको अवस्थासम्म आईपुग्न भवन निर्माणदेखि सबै क्षत्रमा सहयोग गर्ने सङ्घसस्था तथा व्यक्तिलाई धन्यवाद दिएका थिए।
प्रकाशित: ८ कार्तिक २०८१ १५:२७ बिहीबार