स्वास्थ्य

विशिष्टिकृत न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन

सरकारले स्नायु रोग उपचारका लागि विशिष्टिकृत न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षमा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले सरकारी स्तरबाट स्नायु रोग उपचारका लागि विशिष्टिकृत न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न डा.गोपाल सेढाइंको संयोजकमा समिति गठन गर्ने निर्णय गरेको हो।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक समेत रहेका डाक्टर सेढाइं संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन्।

न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न समिति गठन भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। 

प्रकाशित: ७ कार्तिक २०८१ १३:४२ बुधबार

#Pradeep Paudel #Ministry of Health and Population #prakash budhathoki