स्वास्थ्य

हिमाको रिखीदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

जुम्लाको हिमा गाउँपालिकाले दुर्गम गाउँ रिखीदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ।

गाउँमा स्वास्थ्य इकाई स्थापनासँगै स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा पाउने भएका छन्।

सामान्य स्वास्थ्य सेवा लिनका लागि ८ घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमै स्वास्थ्य इकाईको स्थापना गरिएको हो।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारी समेत बनाउन थालेको छ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने रिखीदेउ भौगोलिक रुपमा निकै विकट भएकोले सामान्य चोटपटक र ज्वरो आउँदा सिटामोल र जीवनजल लिनसमेत ८ घण्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो।

स्थानीय जयबहादुर रोकायाले सामुदायिक स्वास्थ्य इकाई स्थापनाले गाउँमा खुसी छाएको बताए। उनले भने, ‘सामान्य स्वास्थ्य सेवा नपाउँदा निकै दुःखी थियौं। तर सामुदायिक स्वास्थ्य इकाईको स्थापना पछि खुसी छौ।’

हिमा–२ ओदी गाउँमा आधारभूत स्वास्थ्य केन्द्र थियो, तर उनीहरु त्यहाँसम्म पुग्न सकिरहेका थिएनन्। हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले अब सामान्य बिरामीको जाँच औषधि उपचार गाउँमै हुने बताए।

सामुदायिक स्वास्थ्य इकाईमा एक जना अनमी र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ।

हाल ३० घर रहेका रिखीदेउमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा ४६ प्रकारका औषधि राखिएको छ। योसँगै हिमामा स्वास्थ्य संस्थाको संख्या ९ पुगेको छ।

हिमा गाउँपालिकाको पहल र संघीय सरकारको ३८ लाख रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य इकाइको भवनसमेत बनेको हो।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्वास्थ्य इकाईको स्थापनासँगै स्वास्थ्य सेवामा सहज हुने बताए। 

उनका अनुसार सामुदायिक स्वास्थ्य इकाईमा कालिकोटका बासिन्दाले समेत स्वास्थ्य सेवा लिन पाउनेछन्।  

प्रकाशित: ७ कार्तिक २०८१ ०८:०८ बुधबार

#Hima Rural Municipality #Jumla