स्वास्थ्य

बच्चामा देखिने गिजासम्बन्धी समस्याबारे जानी राखौँ...

मुख स्वास्थ्य मध्येको एक हो, गिजाको हेरचाह। मुख स्वास्थ्यलाई राम्रो बनाउनु छ भने गिजाको पनि विशेष ख्याल राख्नुपर्छ। गिजासम्बन्धी समस्याहरू वयस्क मानिसहरूमा मात्रै नभई बच्चाहरूमा पनि देखिने गर्दछ। तर, बच्चाहरूमा देखिने समस्या वयस्क मानिसहरूकोभन्दा फरक हुन्छ। गिजासम्बन्धी समस्या मुख्यतया ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। जसको कारणले गर्दा गिजा र दाँतलाई बाधेर राख्ने अन्य संरचनाहरूमा समेत समस्या देखापर्दछ।

कारण

हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामीले खाएको खाना दाँतको सतहमा एक किसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केही सेकेन्डमा नै पातलो तह बन्दछ। यस प्रक्रिया २/४ घण्टादेखि सुरु भएर करिब ४ दिनसम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ। यहि दन्तेलेउनै गिजा सम्बन्धीको समस्याको मुल कारण हो। यदि दन्ते लेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्ते पत्थरमा बदलिन्छ। जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरिरको विभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ। उक्त दन्ते पत्थरले अझै धेरै दन्ते लेउ जम्मा गराउन मद्दत गर्दछ। जसले गर्दा गिजाको सङ्क्रमण देखा पर्दछ। बच्चाहरूमा देखिने गिजा सम्बन्धी समस्याको प्रमुख कारण भनेको दन्ते लेउ नै हो।

जोखिमजन्य कारणहरूः

वंशाणुगत गुणहरू

दाँत र गिजाको बीचमा अड्किने खाने कुराहरू 

मुखबाट सास फेर्ने समस्या, जसले दाँत तथा गिजालाई सुख्खा बनाउने गर्दछ

पौष्टिक खानेकुराको अभाव

शरीरमा भएका अन्य रोगहरू जस्तैः मधुमेह

शरीरमा हुने हर्मोनको परिवर्तन

दाँत किट्ने समस्या

लक्षणहरूः

रातो भएर गिजा सुन्निनुको साथै मन्द गतिमा दुखाइको महसुस हुनु – दाँत ब्रस गर्दा रगत आउनु

गिजा दाँतको सतहबाट क्रमशः तलसर्दै जानु

सामान्य तया भन्दा दाँतहरूबीचको दुरी बढ्दै जानु

श्वाँस गन्हाउनु

गिजा र दाँतको बिचबाट पिप आउनु

कसरी पत्ता लगाउने ?

माथि लेखिएका लक्षणहरू देखिएमा सकेसम्म चाँडै दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसमक्ष लगि हाल्नुपर्दछ। रोग सम्बन्धी सम्पूर्ण जानकारी लिईसकेपछि गिजासम्बन्धी समस्याको बारेमा जानकारी प्राप्त हुने गर्दछ। कुनै कुनै अवस्थामा एक्सरे पनि लिनुपर्ने हुनसक्दछ।

उपचारः

सामान्य दाँतको सफाई

डिप क्लिनिङः धेरै नै समस्या भएको खण्डमा गिजा भित्रैबाट जराको भाग सफा गर्नुपर्ने हुन्छ

पिप जम्मा भएको अवस्थामा औषधिको सेवन गर्नुपर्दछ

गिजाको आकार एकदमै बढेको अवस्थामा सर्जरि पनि गर्नुपर्ने हुनसक्दछ

कसरी बच्ने ?

दिनको दुईपटक उपयुक्त तरिकाको प्रयोग गरेर फ्लोराईडेटेड टुथपेस्टको सहायताले ब्रस गराउने

बच्चाको उमेर अनुसारको ब्रसको साइजको प्रयोग गराउने

दाँतकोबीचमा फसेको फोहोर निकाल्नको लागि डेण्टल फ्लसको नियमित प्रयोग गराउने

हरेक पटक खानेकुरा खाएपछि राम्रोसँग मुख कुल्ला गराउने

नियमित रुपमा दन्त चिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परिक्षण गराउने

पौष्टिक खानेकुराहरू खुवाउने तर चिनिजन्य खानेकुराहरू कम खुवाउने

दाँत तथा गिजासम्बन्धी समस्याहरू मुख्यतया हामीहरूको हेलचक्र्याइँको कारणले गर्दा हुने गर्दछ। त्यसैले आफ्नो बालबच्चाको मुख तथा दाँतसम्बन्धी स्वास्थ्यको बारेमा बेलैमा सचेत हुनुपर्दछ। रोग लागिसकेपछि उपचार गराउनु भन्दापनि रोग नै लाग्न नदिनु बुद्धिमानी हुन्छ। स्वस्थ रहौँ, खुसि रहौ, सुखी रहौँ।

(दन्तरोग विशेषज्ञ डा.अर्जुन हरी रिमालसँगको कुराकानीमा आधारित)  

प्रकाशित: २९ आश्विन २०८१ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App