स्वास्थ्य

जाडो बढ्दै गर्दा स्वास्थ्यको विशेष ख्याल गरौं

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा विस्तारै बिहान र बेलुका जाडो मौसमको सुरुवात भएको महशुस हुन थालेको छ भने हिमाली भेगमा त जाडो मौसम सुरु नै भइसकेको छ।

गर्मी मौसमको विदाइसँगै जाडोयामको स्वागतका लागि हामी सबै तयार हुँदैछ। यस अवस्थामा विभिन्न स्वास्थ्य समस्या र सङ्क्रमणको जोखिम पनि बढ्दै जान्छ। मौसम परिवर्तनसँगै देखिने रोगहरू अरू समयमा देखिनेभन्दा केही फरक हुन्छ। यसबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ। कुनै रोग जाडोयाममा मात्र देखिने पनि हुन्छ भने केही जाडो समयमा बल्झिने हुन्छ।

रुघाखोकी र सिजनल फ्लु

जाडोको सुरुवात र मौसम परिवर्तनसँगै रुघाखोकी र भाइरल फ्लुहरू बढी मात्रामा देखिन थालेका छन्। मुख्यतः भाइरसका कारण हुने यस्ता किसिमको रुघाखोकी समयमै ठीक भएन भने पछि ब्याक्टेरियाको सङ्क्रमण हुने र निमोनिया पनि हुन सक्छ।

विशेषगरी साना बालबालिका र रोगसँग लड्ने क्षमता कम भएका वृद्धवृद्धामा यो समस्या बढी हुन्छ। भाइरल सिजनल फ्लु पाँच–सात दिनमा आफैँ ठीक भएर जान्छ। यसका लागि त्यस्तो कुनै औषधि सेवन गर्नुपर्दैन।

यसका लक्षणहरू:

निरन्तर हाच्छ्यूँ आउने

नाकबाट पानी बग्ने

टाउको दुख्ने

जिउ दुख्ने

ज्वरो आउने

आलस्य हुने

यस्तो समस्या देखिएको बेला झोल पदार्थ प्रशस्त खाने, न्यानो रहने र तातोपानी सेवन गर्नुपर्छ। प्रायः आफैँ सन्चो हुने यस किसिमको रूघाखोकी ठीक नभए वा झन् बढी हुँदै गएमा भने चिकित्सकको सल्लाह र निगरानीमा केही जाँच र औषधि सेवन आवश्यक हुन सक्छ। त्यसका लागि नजिकैको अस्पताल गएर चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ।

चिसो र श्वासप्रश्वाससम्बन्धी समस्या  चिसो मौसममा पुरानो श्वासप्रश्वाससम्बन्धी समस्या (जस्तै : दम) बल्झिने सम्भावना हुन्छ। चिसो मौसममा सुक्खा हुने र हावाहुरी चल्ने कारण धुलो र परागहरूको मात्रा वातावरणमा बढ्ने हुन्छ। यसको कारण पुरानो एलर्जी र दमको समस्या भएकाहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ।

चिसोमा भाइरल रूघाखोकीको कारण पनि दम बिग्रने सम्भावना हुन्छ। विशेषगरी वृद्ध र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका बिरामीले सावधानी अपनाउन पर्ने हुन्छ। आफूले कुनै इनहेलर वा श्वासप्रश्वासको औषधि लिइरहेको छ भने त्यसलाई छोड्नुहँुदैन। न्यानो रहनुपर्छ र धुलो तथा एलर्जी गराउने वस्तुबाट टाढै बस्नुपर्छ।

चिसोमा मुटुको समस्या

चिसोयाममा मुटुको समस्या भएकाहरूको रोग बल्झिने र रोग नदेखिएकालाई पनि रोग देखिने सम्भावना उच्च हुन्छ। उच्च रक्तचाप र मधुमेह भएका बिरामीले चिसो मौसममा विशेष ध्यान पुर्‍याउनु आवश्यक हुन्छ। धेरै अध्ययनले यस्ता समस्या भएका व्यक्तिमा जाडोमा हृदयघातको सम्भावना बढ्ने देखाउँछ।

मुटुको रक्तनली चिसोमा खुम्चिने र पहिले नै यदि त्यो रक्तनली साँघुरिएको छ भने त्यसले हर्ट एट्याक निम्त्याउन सक्छ। त्यसैले रक्तचाप, मधुमेह र कोलेस्ट्रेरोल बढी भएका बिरामीले बिहानको चिसोमा सकेसम्म दौड वा व्यायाम नगर्न सल्लाह दिइन्छ।

बढी धपेडी गर्दा छाती दुखेमा वा अप्ठेरो महसुस भएमा तुरुन्त अस्पताल गएर चिकित्सकलाई देखाइहाल्न आवश्यक हुन्छ। दीर्घरोग अन्तर्गत पर्ने मुटुको समस्या भएका बिरामीहरुले पनि यो समयमा विशेष सावधानी अपनाउनु पर्छ। मुटु रोगीलाई पनि कोरोना सङ्क्रमणको जोखिम उच्च हुने हुँदा सतर्क हुनु पर्छ। कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त विशेषज्ञ डाक्टरसँग परामर्श गरिहाल्नुपर्छ।

चिसो र छालाको समस्या

यो मौसममा छालाको समस्या पनि देखिने गर्छ। जाडो मौसममा वातावरण सुक्खा रहने र धुलोधुवाँ तथा एलर्जी गराउने वस्तुहरूको मात्रा बढ्ने हुनाले छालाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ। छालालाई चिसोबाट बचाउन न्यानो र शरीर पूरै ढाकिने कपडा लगाउन सकिन्छ भने सुक्खा हुनबाट जोगाउन मोइस्चराइजिङ क्रिम लगाउन सकिन्छ।

कठ्याङ्ग्रिएर हुने मृत्यु 

मुख्यतः तराई भेगमा कठ्यांग्रिएर धेरैको मृत्युु भएको समाचार यो बेला आउँछन्। अत्यधिक चिसोबाट हाइपोथर्मिया भएर मानिसको मृत्यु हुने गर्छ। यसबाट बच्ने एउटै मात्र उपाय भनेको चिसोबाट बच्ने नै हो। पर्याप्त कपडा लगाउने, चुरोट र रक्सी सेवन नगर्ने र न्यानो भएर बस्ने गर्नुपर्छ। सरकार र सम्बन्धित निकायले यस्तो खालको समस्या आउनबाट रोक्न विशेष ध्यान दिनुपर्ने हुन्छ।

 

(डा. पुरुषोत्तम अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित: २८ आश्विन २०८१ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App