स्वास्थ्य

तनहुँमा डंगुका बिरामी बढे, बेड नभएपछि अस्पतालको भुइँमा राखेर उपचार गरिँदै

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ।

१५ शैय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।

पर्याप्त शैय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन।विशेष गरेर डेंगुका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छु,उनले भने।

अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए।

शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ।

व्यास–१,२, ३, ४ र ५ मा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको संक्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले बताए।

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

-रासस

प्रकाशित: २८ आश्विन २०८१ १०:२१ सोमबार

#dengue #tanahu