स्वास्थ्य

मुटुरोगीले दसैँको खानपान कसरी गर्ने? यी हुन् ध्यान दिनुपर्ने कुराहरू

यस वर्षको बडादसैँ तपाईं हाम्रो घर आँगन मै छ। दसैँ भन्ने बितिकै खानपानमा विशेष जोड दिने गरिन्छ। वर्ष दिनमा एकपटक त हो भनेर खानपानको बेला ध्यान नदिँदा त्यसले थप जोखिम निम्तिन सक्छ। त्यसकारण यस्तो बेलामा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ। घरमै बसेर वा आफन्तकोमा गएर दसैँ मनाउँदै गर्दा खानपान ठूलो महत्त्वको विषय हुन्छ। दसैँ भन्नासाथ मासुसहितका मिष्ठान्न परिकार खाने भनेर लिने गरिन्छ। त्यसकारण पनि दसैँ खानपानलाई जोड दिनुको साटो विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

पछिल्लो समय पकाउनेदेखि खाने शैलीमा भिन्नता देखिन थालेको छ। तर, दसैँसँग जोडिएका केही कुरा अझै यथावत छन्। अरु, समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरू पनि यो समयमा निश्क्रिय बस्छन्। दसैँमा अन्य समयभन्दा बढी मासुसहित चिल्लो–पिरो खाने चलन छ। यस्तै धेरैको प्राथामिकतामा मदिरा तथा धुमपान पनि पर्छ। तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ ? दीर्घरोगीलाई कस्तो प्रभाव पर्छ भनेर विशेष ध्यान आवश्यक हुन्छ। विशेषगरी मुटुरोगीले यस्तो समय आफ्नो खानपानको ध्यान राख्न बढी आवश्यक हुन्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रन्जित कुमार शर्मा दसैँको समय मुटुरोगीलाई खानपानमा यी कुरामा ध्यान दिन सल्लाह दिन्छन्ः

रातोभन्दा सेतो मासु खाने

दसैँमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ। धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन्। माछामासुमा पनि दसैँमा रातो मासुको प्रयोग बढी हुन्छ। खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुमा धेरैको ध्यान केन्द्रित हुन्छ। यसबेला मासु पकाउन तेल भुटनको प्रयोग पनि बढी हुने गर्छ।

रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ। यसले युरिक एसिड बढाउँछ। रातो मासुको सट्टा सेतो मासु खानु लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ। कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको रातो मासु फाइदाजनक हुन्छ। रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ प्रशस्त मात्रामा हुन्छ। मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ। यसले मुटु रोगीलाई बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ। शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ। रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ।

छालायुक्त मासु नखानुस

छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनि विभिन्न रोगहरूलाई निम्तो दिन्छ। सँगै, खसीबोकालगायतका जनावरको छालामा काटिएर रहेका रौं पनि रहन्छ। त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ। अन्डाको भित्री पहेँलो भागमा कोलस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खाँदा स्वास्थ्यलाई लाभ मिल्छ।

ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस

दसैँका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ। यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरूलाई हानिकारक छ।

सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन। ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन। बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन्। अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ।

मसला घटाउनुस  दसैँको परिकारहरूमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ। चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ। मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन। बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन्। त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ। अझ दशैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ। दसैँमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ।

धुम्रपान र मद्यपान नगर्नुस

दसैँको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ। रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन। धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ। मद्यपानले मुटुरोगको खतरा बढाउँछ। झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ।

फुड प्वाइजनबाट जोगिनुस

यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ। खानपिनकै कारण दसैँ दशा बनेको कतिपय उदाहरण छन्। चाडवाडलाई नेपालीहरू चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ।

तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्छ। बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ। चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ। कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ। त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ। दसैँमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ। बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ।  यदी समस्या भयो भने अस्पताल जान कोरोनाको जाखिम धेरै छ त्यसैले पहिला नै साबधानि अपनाउँनु पर्छ। ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ।

शाकाहारीमा जोड दिनुस, व्यायम गर्नुस  दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन। धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ। काम कम, माम धेरै गर्नुहुँदैन, शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ। तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन। उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ। खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन्। अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा र्पुयाउँछ।

मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ। सँगै, दसैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ। त्यसले रोगीहरूको स्वास्थ्य झन बिग्रिन्छ। त्यसैले स्वादमा मात्रै ध्यान नदिएर स्वास्थ्यको पनि राम्रो ख्याल गर्न डाक्टरको सुझाव छ।

प्रकाशित: २५ आश्विन २०८१ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App