स्वास्थ्य

डेंगी संक्रमणले दशा नबनोस् दसैं

केही महिनायता बढ्दै गएको डेंगी संक्रमण अहिले पनि देशका विभिन्न भागमा जारी रहेकाले सजग भएर दसैं मनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ। 

दसैंमा आफ्नो घरबाहेक टीका लगाउन जाने ठाउँहरू डेंगी प्रभावित हुन सक्ने भएकाले सजग हुँदै मनाउन सुझाइएको महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । ‘दसैंमा टीका थाप्न जाने ठाउँहरू डेंगी प्रभावित हुन सक्छन् । जानै परे सजग अपनाउनुहोस्,’ उनले भने।

दसैंतिहारका लागि लामो बिदासमेत हुने र सो अवधिमा विभिन्न ठाउँमा पुगिने भएकाले सबैलाई सजगता अपनाउन  डा. दाहालको सुझाव छ। यो बेलामा डेंगीका लक्षण देखिए घरमै नबसी समयमै अस्पताल पुगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ। कडा ज्वरो आउने, आँखा रातो हुने, जोर्नी दुख्नेलगायत समस्या बढे तुरुन्त अस्पताल पुगेर स्वास्थ्य जाँच गर्न डा. दाहालले सुझाए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बर्सेनि डेंगी संक्रमित भएको सूचना जारी गरे पनि धेरैजसो बिरामीले बेवास्ता गरी घरैमा बस्ने र सिकिस्त भएपछि मात्र अस्पताल पुग्ने गरेको पाइएको बताए । यसरी बस्दा स्वास्थ्यमा जटिलता आउने भएकाले शरीरमा रातो बिबिरा देखिने, बान्ता हुनेजस्ता लक्षण देखिए अस्पताल नै गएर उपचार गराउनुपर्नेमा उनले जोड दिए । ‘अहिले हेलचेक्र्याइँ धेरै छ । बान्ता हुन खोज्नेबित्तिकै अस्पताल जानुपर्छ,’ उनले भने । धेरै संक्रमित घरैमा बसेकाले यकिन तथ्यांक पनि नआएको र बिरामी जोखिममा परेको उनले बताए ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको केही खतराका चिह्नअनुसार नै उपचारमा पुगिहाल्नुपर्ने डा. पुनको सुझाव छ। जस्तो कि नाकबाट गिजाबाट रगत आउनु, आलस्य धेरै हुने, बान्ता हुनुजस्ता बाहिरी लक्षणले डेंगी कडातर्फ जाँदैछ भन्ने संकेत भएको उनले जानकारी दिए।

यस्ता बिरामीले स्वास्थ्य परीक्षण गरे सेतो रगत कम हुने, हेमाटोक्रिन बढ्ने, कलेजोको आकार दुई सेन्टिमिटर बढ्ने, छाती वा पेटमा पानी जम्नेजस्ता लक्षण देखिन्छन्। यी लक्षण हुनु भनेको बिरामीका लागि खतराका चिह्नहरू हुन्। यी संकेतअनुसार चिकित्सकले उपचार गरे मात्र बिरामी सामान्य अवस्थामा फर्किने उनले बताए। 

तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हुनाले सजक भएर दसैं मनाउनुपर्ने उनले सुझाएका हुन। 

संक्रमण तापक्रमअनुसार अक्टोबर अर्थात् कात्तिक महिनाभरि फैलिने सम्भावना भएकाले सजग हनु आवश्यक रहेको डा. दाहालले सुझाए । तथ्यांकअनुसार हालसम्म यो वर्ष नेपालमा १७ हजार ६ सय दुईजनामा डेंगी संक्रमण भइसकेको छ। तीमध्येमा आठ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ। अगस्टमा मात्र ८ हजार ६ सय ६५ जनामा डेंगी पुष्टि भइसकेको छ भने सेप्टेम्बरमा २५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ७६ वटा जिल्लामा संक्रमण फैलिसकेको छ। 

बढी प्रभावित जिल्लामा नयाँ संक्रमणको दर घट्दै गएको र केही जिल्लामा अहिले पनि जोखिमकै स्थिति रहेको देखिन्छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, धादिङ, चितवन, काभ्रे, गोरखा, म्याग्दी, कास्की, तनहुँ, पर्वत, बागलुङ, कञ्चनपुर र कैलालीमा संक्रमणदर उल्लेखनीय संख्यामै नयाँ संक्रमित रहेको तथ्यांकले औंल्याएको छ। अन्य जिल्लाहरूमा छिटपुट रूपमा देखिएको छ।  

 

 

प्रकाशित: २३ आश्विन २०८१ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App