स्वास्थ्य

‘पानी उमालेर मात्र पिऔं’

बाढीपहिरोसँगै कीटजन्य र कीटाणुजन्य रोगको जोखिम बढेको विज्ञ चिकित्सकले औंल्याएका छन्। बाढीपहिरोका कारण पानी दूषित र वातावरण फोहोर हुने भएकाले पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलले बताए।

पौडेलका अनुसार बाढीका कारण पानीको मुहान दूषित बन्ने र यस्तो पानी उपयोग गर्दा झाडापखाला, हैजा, टाइफाइडजस्ता सरुवा रोग लाग्न सक्छन्। यस्तो समयमा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

यस्तो बेला ट्यांकी, धारा ट्यांकर, मुहान, इनारको पानीमा क्लोरिन राखेर प्रयोग गर्नुपर्ने, सागपात, फलफूलजस्ता काँचै खाने खानेकुरा शुद्धीकरण या उमालेको पानीले राम्रोसँग पखालेर प्रयोग गर्ने, हातको सफाइमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

बाढीका कारण धारामा आउने पानी दूषित हुने भएकाले छालासम्बन्धी रोगको जोखिमसमेत बढ्न सक्छ। यस्तो बेला पानी शुद्धीकरण गरेर नुहाउँदा विभिन्न समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ। बाढीपहिरोपछि खाल्डाखुल्डीमा जम्मा भएको पानीका कारण लामखुट्टे बढ्न गई तिनीहरूको टोकाइबाट मलेरिया, डेंगी, जापानिज इन्सेफ्लाइटिसजस्ता रोगको जोखिम हुन्छ।

बाढीपहिरोपछि सर्प जमिनबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम पनि बढ्ने डा. पौडेल बताउँछन्। ‘विशेषगरी तराईमा सर्पले टोक्ने जोखिम धेरै हुन्छ,’ उनले भने। सर्पको टोकाइबाट जोगिन पनि चिकित्सकले सुझाएका छन्। सर्प खानाको खोजीमा घरभित्र पस्न सक्छन्। सर्पका आहारा भ्यागुतो, मुसालाई घरभित्र पस्न नदिन सरसफाइ गर्ने, प्वाल बन्द गर्ने, राति घरबाहिर निस्कँदा बत्ती बालेर मात्र निस्कने जस्ता सावधानी अपनाउनुपर्ने पौडेले बताउँछन्।

कीटजन्य रोगबाट बच्न राति झुल लगाएर सुत्ने, घरवरिपरि सफा राख्ने, खाल्डाखुल्डी पुरेर पानी जम्न नदिने, शरीर छोपिने लुगा लगाउनेजस्ता सावधानी अपनाउन उनले सुझाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राखेर महाशाखाले केन्द्रदेखि स्थानीय तहसम्मका ¥यापिड रेस्पोन्स टिम (दु्रत स्वास्थ्य टोली) लाई उपचारमा खटिन तयारी अवस्थामा राखेको जानकारी पौडेलले दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरोको घाइतेको निःशुल्क उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले आपत्कालीन अवस्थामा परिचालित गर्न स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको पनि व्यवस्था गरेको छ।

एम्बुलेन्सका लागि हटलाइन नम्बर ‘१०२’ र स्वास्थ्यसम्बन्धी आपत्कालीन जानकारी लिन कल सेन्टरको हटलाइन नम्बर ‘१११५’मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यसैगरी मन्त्रालयले बाढी पहिरोका घाइतेको उपचार गर्न आवश्यक चिकित्सकलाई तयारी अवस्थामा रहन, प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रहरूले स्याटलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सा सेवा प्रदान गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८१ ०६:२२ मंगलबार

# Badhipahiro # Dusit pani # Umaleko pani