स्वास्थ्य

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (जस्तै डेङ्गु, मलेरिया आदि)को सङ्क्रमण बढ्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरे ।

उनले भने, “मुख्यतः पानीजन्य रोगहरु झाडापखाला, हैजाको जोखिम बढेको छ । हैजा अहिले पनि पूर्णरुपले हटिसकेको अवस्था छैन ।” उनले मनसुनको समयमा किटजन्य रोगको जोखिम बढी हुने बताए ।

बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने उनको भनाइ छ । “स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उनले भने ।

घाइतेको निःशुल्क उपचार गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले उद्धार गरिएका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेको हो ।

मन्त्रालयका  प्रवक्ता डा प्रकाश बुढाथोकीले उद्धार गरिएका घाइतेको स्वास्थ्य संस्थाहरूले निःशुल्क उपचार गर्ने र उपचारको रेकर्ड राखेर पछि सोधभर्ना गरिने व्यवस्था गरेको बताए ।

उनले भने, “पानी पर्न रोकिएपनि महामारीको जोखिम छ । पानी तथा किटजन्य रोगहरू बढ्नसक्ने जोखिम भएकाले सबै सरोकारवालाले उच्च सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन गरिन्छ ।”

डा बुढाथोकीले मन्त्रालयले जनस्वास्थ्यको सुरक्षा व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशस्थित सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको बताए ।

मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न, प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्था राख्न आग्रह गरेको छ ।

त्यसैगरी हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्न गराउन, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायसँग समन्वय गर्न र स्रोत साधनको अध्यावधिक गर्न÷गराउन, आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रलायले भनेको छ ।

आपतकालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालिम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन नम्बर १०२ मा सम्पर्क गर्न समेत मन्त्रलायले अनुरोध गरेको छ ।

प्रकाशित: १३ आश्विन २०८१ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App