स्वास्थ्य

सोलुखुम्बुबाट उद्धार गरिएकी गर्भवती शेर्पाको सफल उपचार

सोलुखुम्बु पासाङलामु गाउँपालिका–४ की ३९ वर्षीय दादिका शेर्पाले तेस्रो बच्चा जन्माउँदा यस्तो विपद् आइपर्ला भन्ने सोचेकै थिइनन्। तर यो पालि उनले नसोचेको कुरा भोग्नु पर्‍यो। उनी नियमित स्थानीय स्वास्थ्य केन्द्रमा गर्भ परीक्षण गराइरहेकी थिइन्। उनमा दुई वर्षदेखि उच्च रक्तचापको समस्या देखिएको थियो। गत साता परीक्षण गर्न जाँदा रक्तचाप बढेर १६० पुगेको थियो।

उनमा उच्च रक्तचापको समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीले यो पटक प्रसूतिका लागि छिटो गरी अस्पताल जान सुझाए। तर उनले आलटाल गरिन् र केही दिनपछि मात्र अस्पताल जान हिँडिन्। अस्पताल पुग्न तीन घण्टा हिँड्नुपथ्र्यो। बाटैमा व्यथाले च्यापेपछि फर्केर घर नजिकै स्वास्थ्य केन्द्रमा गइन्। त्यहाँका स्वास्थ्यकर्मीले सकेको उपचार गरे। तर व्यथा लागेको २० घण्टासम्म पनि बच्चा जन्माउन सकिनन्।

सुत्केरी व्यथाले च्यापेपछि उनमा थप सकस थपियो। त्यसपछि शेर्पाको अमेरिका रहेकी दिदी र स्वास्थ्यकर्मीले छिटो काठमाडौं जान सुझाए। सुरुमा सरकारी हेलिकोप्टरलाई अनुरोध गरे। समयमा पुग्ने कुराको अनिश्चित भएपछि निजी हेलिकोप्टर मगाए। सोही हेलिकोप्टरमार्फत गत साता काठमाडौंस्थित मोडेल अस्पताल पुर्‍याए। अस्पताल पुग्दा शेर्पा बेहोस अवस्थामा थिइन्। अस्पतालका स्त्रीरोग सर्जन डा. गणेश दंगालको टोलीले शल्यक्रिया गरे। शेर्पा एक घण्टाअघि मात्र अस्पताल पुगेका कारण आमा र शिशु दुवैलाई बचाउन सफल भएको डा. दंगालले बताए। आमा र शिशुको स्वास्थ्यमा सुधार आएपछि मंगलबार अस्पतालले डिस्चार्ज गरेको छ। डिस्चार्ज हुनुअघि शेर्पाले भनिन्, ‘म बेहोस भइसकेकी थिएँ, हेलिकोप्टरबाट नआएको भए उतै मरिसकेको हुने रहेछु।’ गाउँमा यातायातको सुविधा नभएकाले सेवा लिन तीन घण्टा हिँडेरै जानुपर्छ।

शेर्पाको उपचारमै संलग्न स्त्रीरोग विशेषज्ञ डा. आमोघ बस्नेतका अनुसार शेर्पा दुई दिनदेखिको सुत्केरी व्यथामा पनि प्रसूति हुन नसकेको अवस्थामा अस्पताल आइपुगेकी हुन्। पाठेघरको मुख पुरै खुलेको १२ घण्टासम्म प्रसूति हुन नसकेपछि उनी बेहोस अवस्थामा थिइन्। यस्तो अवस्थामा गर्भभित्र शिशु निस्सासिएर मृत्यु हुन सक्छ भने आमाको पनि पाठेघरभित्र बाहिरबाट हुने संक्रमणको कारण मृत्यु हुन सक्छ। लामो समयको व्यथाका कारण शेर्पाको पाठेघरभित्र संक्रमण भइसकेको थियो। अस्पताल आइसकेपछि शल्यक्रिया गरी शिशु निकालिएको हो भने संक्रमणका लागि उपचार गरेपछि अहिले शेर्पा सामान्य अवस्थामा फर्केकी हुन्।

चिकित्सकका अनुसार कुनै पाठेघरको मुख खुलेको दुई घण्टाभित्र प्रसूति भइसकेको हुनुपर्छ। सामान्य प्रसूतिको हकमा आठदेखि १२ घण्टाभित्र प्रसूति भइकसकेको हुनुपर्छ। पहिलो पटकको प्रसूतिको हकमा १२ देखि १६ घण्टासम्म सामान्य रूपमा लिन सकिन्छ। पाठेघरको मुख खुलिसकेको छ भने पहिलो र दोस्रो दुवै प्रसूतिमा दुईघण्टा भन्दा बढी अवधि काट्नुहुँदैन। यस्तो अवस्थामा दक्ष चिकित्सकबाट प्रसूति हुन आवश्यक भएको डा. बस्नेत सुझाउँछन्। उमेर ३५ वर्ष कटेपछि पनि प्रसूतिमा जटिलता आउने भएकाले उमेर पुगेपछि बच्चा जन्माउने आमाहरूले समयमै सुरक्षित अस्पतालमा प्रसूति हुन आवश्यक रहेको उनले सुझाए।

प्रकाशित: ९ आश्विन २०८१ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App