स्वास्थ्य

डेंगी र स्क्रबटाईफसका बिरामीले अस्पतालमा चाप

विगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पतालमा चाप बढेको छ। डेंगी र स्क्रबटाईफसका बिरामी बढ्दा अस्पतालमा चाप बढेको हो।

सरकारी अस्पतालसँगै निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरूमा भाइरल ज्वरो, डेंगी र स्क्रबटाइफसका बिरामी बढेका अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगन्नाथ तिवारीले जानकारी दिए।

ओपिडीमा दैनिक एक सयदेखि डेढसय सम्म बिरामी आउने गरेकोमा अहिले बढेर दुई सयदेखि दुई सय पचास सम्म पुगेका उनको भनाइ छ। साउन र भदौ महिनामा मात्र जिल्लाभरमा ४९ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ भने  २८ जनामा स्क्रबटाइफस देखिएको छ। विगतका वर्षमा डेंगी र स्क्रब टाइफसका बिरामीको खासै नदेखिएकोमा अहिले निकै बिरामी देखा परेका छन्।

अर्घाखाँची अस्पतालमा पछिल्लो समय भाइरल ज्वरोका बिरामी पनि निकै बढेका छन्। मौसमको बदलावले हुने भाइरल ज्वरो, शरीर दुखाई जस्ता लक्षण देखिने तर सामान्य उपचारले बिरामी निको नहुने हुनाले बिरामीलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको अस्पतालका सूचना अधिकारी निम रानाको भनाई छ। ‘हाम्रो क्षमता भन्दा निकै धेरै बिरामीहरू यहाँ भर्ना छन्,उनले भने,‘सिजनेबल भाइरल ज्वरो त छँदै छ डेंगी र स्क्रबटाईफसका बिरामीको समेत चाप छ।

सामान्य ज्वरो देखिए पनि समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ। रुघाखोकी जस्तो सामान्य देखिए पनि डेंगी र स्क्रबटाइफस समेत हुने भएकाले सचेत हुन पर्ने स्वास्थ्यकर्मीहरूको भनाई छ। स्क्रबटाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण गर्नुका साथै कहिलेकाहीँ बहुअङ्ग विकारको अवस्था पनि सिर्जना हुनसक्छ।

स्क्रबटाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइक्लिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरको भनाइ छ। समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन डा. तिवारीको सुझाव छ। 

गत वर्ष यही समयमा डेंगी र स्क्रबटाईफसका २३ जना बिरामी थिए भने अहिले ७७ जनालाई संक्रमण पुष्टि भईसकेको छ।

प्रकाशित: ४ आश्विन २०८१ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App