स्वास्थ्य

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसः चुनौतीलाई चिर्दै अघि बढ्ने अवसर

मधेशको स्वास्थ्य क्षेत्र सँधैदेखि विवादित हुँदै आएको समय चिकित्सा शिक्षा आयोगले मधेशमा सरकारी स्तरमै एमबीबीएस कार्यक्रमका लागि सिट सङ्ख्या निर्धारण गरेको छ। प्रतिष्ठान बनेको निकै कम समयमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापन गराउन ५० सिट पाएको छ। आयोगले सिट सङ्ख्या निर्धारण गरेसँगै प्रतिष्ठानले आर्थिक वर्ष २०८१/२०८२ देखि एमबीबीएस अध्यापन गराउने भएको छ।

सरकारले यसका लागि केहि महिना अघि नै छलफल थालेको थियो।  देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीबारे छलफल पनि भएको थियो। सोही छलफल र तयारी अनुसार आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि ५० वटा सिट निर्धारण गरेको छ।

यसअघि प्रतिष्ठानमा स्नातक तर्फ बीएससी नर्सिङ, बीएनएस, बीएससी एमएलटी, बीपीएच, पीसिएल नर्सिङको अध्यापन हुँदै आएकोमा एमबीबीएस थपिएको हो। त्यस्तै स्नातकोत्तर तर्फ एमडी इन अब्सट्रेटिक्स एण्ड गाइनोक्लोजी, एमडी इन पेडियाट्रिक्स, एमडी इन इन्टरनल मेडिसिन र एमडी इन जेनरल सर्जरीमा अध्यापन हुँदै आएको छ।

प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद कुमार यादवका अनुसार प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने छन्।

उनले मधेशमा सरकारी स्तरबाटै एमबीबीएस पढाइ सञ्चालन हुनु निकै महत्त्वपूर्ण कुरा भएको भन्दै यो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुने बताए।

नागरिक न्यूजसँगको कुराकानीमा उनले भने, ‘प्रदेश सरकारले एबीबीएस अध्यापनका लागि ६ करोड बजेट विनियोजन गरेको छ। हामीले एमबीबीएस कार्यक्रमका लागि २० जना जनशक्ति पनि थपेका छौँ। अब यो सबैको जिम्मेवारी पनि हो। यसलाई सफल बनाउने र आउने दिनमा थप सिट ल्याउनेमा ध्यान दिनेगरी हामी काममा लाग्छौँ।’

पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउतदेखि वर्तमान पदाधिकारी तथा सञ्चालकहरूको अथक प्रयासकाबीच मधेशमा सरकारी स्तरमै एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ। जसका लागि हरेक निकाय बधाई र धन्यवादका पात्र हुन्।

मधेशमा एमबीबीएसको अध्यापन सुरु हुने भएपछि शिक्षा क्षेत्रका जानकार र चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्याथीहरू निकै खुशी र उत्साहित छन्। मधेशमै एमबीबीएस अध्ययन हुने भएपछि बधाई र शुभकामना दिनेको ओइरो पनि उत्तिकै लागेको छ।

करिब ४ वर्ष अघि स्थापना भएको प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुँदै गर्दा यसले मधेशको शिक्षा क्षेत्रमा नयाँ उत्साह थपिएको छ।

प्रष्ठिानमा एमबीबीएस अध्यापनका लागि पूर्व मुख्यमन्त्री लालबाबु राउतको पालामै पहल थालिएको थियो। तर, उक्त समयमा सम्बद्ध मन्त्रालयको असमझदारीका कारण प्रतिष्ठानले गरेका प्रस्तावमा ढिलासुस्ती हुँदा पूर्वाधार निर्माणको काम अघि बढ्न सकेन। तर, गत चैतमा अमेरिकी सरकारले सुविधा सम्पन्न भवन हस्तान्तरण गरेपछि एमबीबीएसको कार्यक्रम सञ्चालनका लागि सहज हुने भएको छ। तर, त्यो पर्याप्त भने होइन।

भौतिक पूर्वाधारसँगै जोडिने भनेको जनशक्ति व्यवस्थापन पनि हो। कर्मचारी अभाव र त्यसका लागि पटक–पटक विज्ञापन निकाल्ने तर त्यसलाई अन्तिम रुप दिन नसक्दा कर्मचारी अभाव भइ नै रहेको छ। प्रतिष्ठानले नयाँ जशक्तिमा २० जना नियुक्त गरेपनि त्यो पर्याप्त भने होइन। रिक्त दरबन्दी परिपूर्तिका लागि प्रतिष्ठानले थप विज्ञापन गरेर त्यसलाई एमबीबीएस कार्यक्रम सुरु हुनु अगावै पूर्ति गर्नुपर्छ।

यता, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिष्ठानमा एमबीबीएसको अध्यापन आरम्भ हुनु प्रदेशका लागि गौरवको विषय भएको बताएका छन्।

प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानलाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चतताका निर्णयहरू भएको बताए।

उनले मुख्य चुनौतीको रुपमा रहेको भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै प्रतिष्ठानको उन्नतीका लागि समन्वय गर्दै अघि बढ्न प्रतिवद्ध रहेको बताए।

उनले प्रदेश सरकार र सङ्घ सरकारबाट प्रतिष्ठानका लागि यसवर्षका लागि ६ करोड बजेट छुट्याइएको जानकारी दिँदै नयाँ भौतिक संरचनाको काम पनि चाँडै सुरु हुने बताए। उनले हाल वैकल्पिक रुपमा प्रयोगका लागि केही भवन रहेको र आगामी दिनमा आफ्नै भवन निर्माणको काम सुरु हुने पनि बताए।

मुख्यमन्त्री सिंहले विभिन्न चुनौतीकाबीच एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएकाले हामी त्यसलाई सफल बनाउनका लागि लागिपरेको पनि बताए।

यता, नेपाल मेडिकल काउन्सिलका पूर्व रजिस्ट्रार डा.कृष्ण अधिकारीले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाँडै पाउनुपर्ने एमबीबीएस कार्यक्रम ढिलो पाएको बताउँछन्।

उनले मधेश जस्तो क्षेत्रमा एमबीबीएस अध्यापन कार्यक्रम प्रतिष्ठान स्थापना भएकै बेला पाउनुपर्नेमा ढिलो पाएको बताए।

उनले भने, ‘मधेशबाट चिकित्सा क्षेत्रमा आउन चाहने धेरै विद्यार्थीहरू छन्। तर, प्रतिष्ठानले ढिलो कार्यक्रम पाउँदा कतिपय विद्यार्थीहरू चिकित्सा अध्ययनबाट बञ्चित हुँदै आएका थिए। प्रतिष्ठानमा अनुभवी उप कुलपति, रजिस्ट्रा र अन्य पदाधिकारी पनि अनुभवी रहेकाले अब भने सहज हुनेछ।’

उनले देशैभरको समस्याको रुपमा मेडिकल साइन्सका प्राध्यापकहरूको अभाव रहेकाले यसमा थोरै चुनौतीको सामना प्रतिष्ठानले गर्न सक्ने बताए। उनले भने, ‘प्रतिष्ठानको उन्नती र चिकित्सा क्षेत्रको प्रगतिका लागि बजार माग अनुसार आवश्यक प्राध्यापकको माग पूर्ति गर्न सक्ने भएकाले सम्बन्धित निकायले त्यसतर्फ ठोस नीति लिएमा त्यो समस्या पनि समाधान हुन सक्छ।’

पछिल्लो समय मधेशमा खस्किँदो शिक्षाको स्तरलाई सुधार्ने अवसरको रुपमा पनि एमबीबीएस कार्यक्रमलाई लिन सकिने उनको भनाइ छ।

मधेशका धेरै शिक्षकहरूले देशका विभिन्न विद्यालयमा अध्यापन गराएर अब्बल विद्यार्थीहरू उत्पादन गरेको हुँदा एमबीबीएसमा पनि अब्बल हुने विश्वास गर्न सकिने डा.अधिकारीको भनाइ छ। उनले मधेशप्रतिको गलत धारणालाई चिर्न र एमबीबीएस कार्यक्रमलाई अवसरका रुपमा लिन पनि सुझाव दिए।

अवसर

अनेकन बाधा, अभाव र उतारचढावकाबीच एमबीबीएस कार्यक्रमका लागि ५० सिट प्राप्त हुनु मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मधेशबासीका लागि गौरवको कुरा हो। यसलाई प्रतिष्ठान र मातहत निकायका साथै सबैभन्दा जिम्मेवार मधेश प्रदेश सरकारले सुवर्ण अवसरको रुपमा लिनु पर्छ।  

प्रतिष्ठानमा मधेश मात्रै नभई देशभरबाट विद्यार्थी अध्ययनका लागि आउने हुँदा मधेशले सफल र सक्षम चिकित्सक उत्पादन गर्नमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्न सक्छ। जसले गर्दा मधेशको शैक्षिक स्तर उकास्ने पनि मौका हुन्छ भने यहाँको खस्किँदो स्वास्थ्य सेवालाई पनि गुणस्तरीय बनाउनमा सहयोगी हुन सक्छ।

अर्को भनेको मधेश र अन्य प्रदेशसँगको सामाजिक, सांस्कृतिक सम्बन्धको आदान प्रदानका लागि पनि यो राम्रो अवसरको रुपमा हुन सक्छ। जसले गर्दा आर्थिक चलायमान हुनुनका साथै आपसी भाइचारा बढ्ने, धार्मिक तथा आन्तरिक पर्यटन प्रभावकारी रुपमा बढाउन सहज हुने र त्यसले जनकपुरको सर्वाङ्गीण विकासमा टेवा पुग्ने छ।

देशका विभिन्न भूगोलबाट अध्ययनका लागि मधेश छिर्दै गर्दा मधेश प्रतिको धारणा समेत बदल्न आवश्यक हुन्छ। तर, यीसबका लागि भने राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु पर्छ। दलगत स्वार्थमा अल्झिएको अवस्थामा मधेशले पाउनुपर्ने पहिचान, सम्मान र प्रतिष्ठा जोगिनुको साटो झन् गुम्ने खतरा हुन्छ।

प्रकाशित: २७ भाद्र २०८१ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App