स्वास्थ्य

सेवा सञ्चालन भएको दुई महिना पछि भरतपुर अस्पतालको एमआरआई मेसिनको उद्घाटन

चितवनको भरतपुर अस्पतालमा रहेको ‘एमआरआई’ मेसिनको उद्घाटन गरिएको छ।

सेवा सञ्चालन भएको करिब दुई महिनापछि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आज (सोमबार) औपचारिक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गरेका हुन्। अस्पतालले असार २७ गतेदेखि एमआरआई सेवा सञ्चालन गरेको थियो।

यहाँ ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उपकरण सहितको सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन जडान गरिएको उनले बताए।

स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने अस्पतालले जानकारी दिएको छ। यहाँ दैनिक २५ जना हाराहारीले सेवा लिने गरेका छन्।

सेवा सञ्चालन गरेको केही सातापछि चट्याङले मेसिन बिगारेपछि बनाएर सेवा पुनः सञ्चालनमा ल्याइएको थियो। अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ। 

प्रकाशित: २४ भाद्र २०८१ १८:१९ सोमबार