स्वास्थ्य

चितवनमा पहिलो पटक कुहिनोको प्रत्यारोपण

चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको छ। अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको आज (सोमबार) हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। 

हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षीय राज सुन्दर जोशीको जोर्नीको सफल प्रत्यारोपण गरेको हो । प्रत्यारोपण गर्न चार चिकित्सक, नर्स सहित प्राविधिकको टिमलाई चार घण्टा लागेको एलाईभका अध्यक्ष समेत रहेका लामिछानेले जानकारी दिए।

‘केही महिना अघि काठमाण्डौँको बि.एण्ड.बि अस्पतालमा पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो। हामीले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलो पटक प्रत्यारोपण गर्न सफल भएका छौँ’–हस्पिटलका अध्यक्ष लामिछानेले भने । यस हस्पिटलले  भदौ १६ गते सफलता पूर्वक प्रत्यारोपण गरेको हो । बिरामी सोमबार डिस्चार्ज भएको लामिछाने जानकारी दिए ।

कुहिनाको जोर्नी प्रत्यारोपण जटिल र महँगो हुन्छ।अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनाको जोर्नी प्रत्यारोपण जटिल र अरु जोर्नी प्रत्यारोपणको तुलनामा निकै कम संख्यामा हुने शल्यक्रिया रहेका अर्थोपेडिक डा.अनिल भट्टराईले बताए । बिरामी भेटिएमा नियमित रुपमा जोर्नी प्रत्यारोपण गर्न सकिने उनले बताए । जोर्नी प्रत्यारोपणका लागि डा.लामिछाने, भट्टराई, अर्थोपेडिक डा.सन्तोष कुँवर, एनेथेसियन डा.सञ्जय ढुंगाना, भारतबाट आएका एक जना प्राविधिक र नर्सको सहभागिता रहेको थियो ।

कुहिनाको कृत्रिम जोर्नीलाई साढे तीन लाखको हाराहारीमा पर्ने गर्दछ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख हाराहारीमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको हस्पिटलले बताएको छ ।

सफल शल्यक्रियापछि बिरामी राम सुन्दर जोशीले खुसी व्यक्ति गरेका छन्। ‘अहिलेसम्म टी सर्ट लगाएको थिएन।सर्ट मात्र लगाउने गरेको थिए,’ उनले भने ‘टी सर्ट लगाउन मिल्ने र हात सोझो हुँदा धेरै खुसी लागेको छ ।’ उनका एक श्रीमती र दुई छोरा छन् ।

लामबाउले सर्टमा बुवालाई देखिराखेका छोराछोरी टी सर्टमा देख्दा खुसी भएको समेत उनले सुनाए । उनले पहिलो पटक आइतबार टी सर्ट लगाएका हुन् ।अब दुवै हातले काम गर्न मिल्ने आशा उनलाई छ।उनको हातमा सात वर्षको उमेरदेखि नै यस्तो समस्या देखिएको हो । हात सन्चो हुन्छ भन्ने कल्पना समेत नगरेका जोशीले करिब ५० वर्षपछि सोझो हुँदा खुसी लागेको उनले बताए । 

नेपालमा घुँडा र हिपको प्रत्यारोपण धेरै हुने गर्दछ । एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ। एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डको अपरेसन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिएको छ ।

प्रकाशित: २४ भाद्र २०८१ १५:५१ सोमबार