स्वास्थ्य

अज्ञात रोगका कारण नरैनापुरमा चारजनाको मृत्यु

बाँकेको नरैनापुरमा अज्ञात रोगको संक्रमणबाट चारजनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको आधिकारिक रुपमा पुष्टी भने भएको छैन।

जिल्लाको नरैनापुर–३ गेगली गाउँ निवासी २५ वर्षिया रुसा पासी र उनको  डेढ वर्षको छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षिय यूसुफ अलिको मृत्यु भएको हो।

नरैनापुर गाउँपालिका स्वास्थ्यका शाखा प्रमुख नगेन्द्रकुमार शाहले भारतीय  सिमासँग जोडिएको उक्त गाउँमा रहेका उनीहरुको मृत्यु भएको जानकारी दिए। उनीहरु केहीदिन यता बिरामी पर्दै आएका थिए।

‘चार जनाको फरक फरक मितिमा मृत्यु भएको छ, झाडापखालाको शंका गरेपनि पुष्टी भएको छैन,’ उनले भने। केही बिरामीलाई भेरी अस्पतालमा पठाएर उपचार चलिरहेको शाहले जानकारी दिए। झाडापखाला फैलिएको भन्ने जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार गरेको उनले बताए। 

प्रकाशित: १७ भाद्र २०८१ ०९:०२ सोमबार