स्वास्थ्य

मुटु अस्पताल चाँडै सञ्चालनमा आउँछ: स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगर स्थित शैलजा आचार्य ह्दयरोग केन्द्र चाँडै सञ्चालनमा आउने बताएका छन् । बिहीबार शैलजा आचार्य ह्दयरोग केन्द्रको स्थलगत अनुगमन पछि मन्त्री पौडेलले ह्दयरोग केन्द्र चाँडै सञ्चालनमा आउने बताएका हुन् ।

मन्त्री पौडेलले  ह्दयरोग केन्द्रमा सबै खालका भौतिक पूर्वाधार तयार रहेको र केही उपकरण जडान गरे मात्रै पूर्ण रुपमा मुटु रोगको उपचार गर्न सकिने अवस्था रहेका कारण संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा अस्पताल चाँडै सञ्चालन गर्न सकिने बताए । पौडेलले अस्पतालका लागि आवश्यक विशेषज्ञ चिकित्सक गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौंबाट उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

मन्त्री पौडेलले भने‘अस्पतालमा सबै खालका पूर्वाधार तयार रहेका कारण विशेषज्ञ डाक्टरहरूको व्यवस्थापन गरी चाँडै अस्पताल पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौँ ।’ तत्कालीन मुख्यमन्त्री केदार कार्कीले कोभिड विशेष अस्पतालको नाम परिवर्तन गरी  शैलजा आचार्य हृदय रोग केन्द्र नामाङ्कन गरेका थिए ।

पूर्व मुख्यमन्त्री कार्कीकै पहलमा अस्पतालको अनुगमनमा पुगेका मन्त्री पौडेलले चाँडै अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्न संघ सरकार आवश्यक सहयोगका लागि तत्पर रहेको बताएका हुन् । अस्पतालमा हाल ओपिडी (बहिरङ्ग) सेवा मात्रै सञ्चालनमा रहेको छ । 

प्रकाशित: १३ भाद्र २०८१ १८:३३ बिहीबार