स्वास्थ्य

धुम्रपान गर्नेको दाँत किराले खान्छ!

के तपाईंलाई धुम्रपानको लत लागेको छ ? आजै छाड्नुहोस्। हैन भने फोक्सोमा मात्रै हैन मुख, दाँत गिजा, गाला, घाँटी, श्वास नलीसहितका अंगमा तपाईंलाई यसले नराम्ररी असर पुर्‍याउँछ।

धुम्रपानले सबैभन्दा पहिले मुखमा असर गर्छ। सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ। चुरोट अत्याधिक पिउँदा धुँवा र त्यसमा हुने अन्य रसायनले दाँतमा दागहरु बस्दै जान्छ।

दाँत कीराले खान्छ। धुम्रपानले मुखमा थुक उत्पादन कम हुन्छ जसले मुख सुख्खा हुनुका साथै दाँतमा कीरा लाग्ने सम्भावना धेरै हुन्छ। एउटा स्वस्थ मानिसको मुखमा दैनिक डेढ लिटरसम्म थुक उत्पादन हुन्छ। थुक उत्पादनमा कमी भएपछि प्राकृतिक रुपमा मुख सफा हुन पाउँदैन र विभिन्न समस्या निम्त्याउँछ।

चुरोटमा हुने निकोटिन र तातोपनले बिस्तारै गिजामा पनि समस्या ल्याउँछ। धुम्रपान गर्दा निस्कने रसायनले मुख सुक्खा भई फोहोर हुने र ब्याक्टेरियाले बिस्तारै गिजामा संक्रमण भई दुख्ने, रगत आउने,  पाक्ने र सुन्निने हुनसक्छ। संक्रमण बढ्दै गए दाँत झर्ने हल्लिएर झर्नेसम्म हुन सक्छ।

धुम्रपानले रक्त सञ्चार कम गराई अक्सिजनको प्रवाह कम गर्ने हुँदा रोगसँग लड्ने प्रतिरक्षालाई पनि कमजोर पार्छ। जसले गर्दा मुखमा आएको घाउ, गिजामा भएको संक्रमण सन्चो हुन समय लाग्छ। तालुमा मसिना फोकाहरु आउनु पनि धुम्रपान गर्नुको परिणाम हो।

चुरोटको धुवाँ र रसायनले मुख सुक्खा पार्छ। गिजामा संक्रमण भई रगत अनि पीप आउन।  जसले सास गन्हाउन थाल्छ। अत्यधिक सेवनले बिस्तारै खानेकुराको स्वाद पनि थाहा नपाउने हुनसक्छ।

चुरोट तथा भेपको धुवाँमा क्यान्सर गर्न सक्ने पोलिक्लिनिक एरोमेटिक हाइड्रोकार्बन, एन नाइट्रोसमाइन्स, एरोमेटिक एमाइन्स, एल्डेहाइड्स जस्ता कार्सिनोजेनिक रसायन हुनसक्छ। जसकारण गाला, गिजा र ओठको क्यान्सर हुने जोखिम हुन्छ।

चुरोटमा हुने निकोटिनले हड्डीमा खनिजको मात्रा कम गर्छ। खनिजले नै दाँतलाई बलियो र स्वस्थ बनाइराखेको हुन्छ। हड्डी कमजोर हुँदै गए दाँतले ठाँउ छोड्दै जान्छ र चाँडै झर्छ।

यसबाट बच्न पहिलो कुरा त चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन छोड्नु नै हो तर सक्नु हुन्न भने  खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने, दिनको दुई पटक फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, डेन्टल फ्लस गर्ने, दाँत तथा गिजाको परीक्षण प्रत्येक ६ महिनामा गर्ने, खानामा फाइबर, भिटामिन र खनिज भएको फलफूल तथा तरकारी दैनिक खाने गर्नुपर्छ।

(दन्त चिकित्सक डा.श्यामकाजी महर्जनको सहयोगमा)

प्रकाशित: ११ भाद्र २०८१ १३:२८ मंगलबार

#smoking #cigarate #teeth #Cancer