स्वास्थ्य

नेपालमा पनि एमपक्सको उच्च जोखिम

केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्। छिमेकी राष्ट्र पाकिस्तानमा तीन जनामा एमपक्स देखिएपछि नेपालमा पनि त्यसको जोखिम बढेको इपिडिमियोलोेजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरले भने, ‘विभिन्न देशबाट मानिसहरू आउने–जाने क्रम भइरहने भएकाले यो रोग भित्रिन सक्ने जोखम छ।’

महाशाखाको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलका अनुसार गत वर्ष नेपालमा एक जना पर्यटकमा एमपक्स फेला परेपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। धेरै मुलुकमा फैलिएको र नेपाली सेना पनि एमपक्स फैलिरहेका देशहरूमा जानेआउने भइरहने हुँदा नेपालमा कुनै पनि बेला फैलिन सक्ने जोखिम रहेको उनको भनाइ छ। ‘अहिलेसम्म फेला परेको त छैन तर आउने जोखिमचाहिँ उच्च छ,’ उनले भने। 

तथ्यांकअनुसार हाल अफ्रिका, कंगो, युरोपसहित विश्वका विभिन्न मुलुकमा एमपक्स देखा परिसकेको छ। तीमध्ये अफ्रिका र कंगो सबैभन्दा बढी प्रभावित देश हुन्। विश्वभरि हालसम्म १६ हजार ६ सय जनामा एमपक्स संक्रमण पुष्टि भएको छ भने पाँच सय ३७ जनाको मृत्यु भइसकेको छ। 

पछिल्लो समय महामारीको रूप लिएको कंगोमा ६ हजार पाँच सय जनामा एमपक्स संक्रमण पुष्टि भएको र तीन सय ४५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। गत वर्षको तुलनामा यो वर्ष धेरैको संंख्यामा एमपक्स संक्रमणका मृत्यु भएको र अन्य देशहरूमा पनि फैलिने क्रम जारी रहेको भन्दै डब्लुएचओले अन्तर्राष्ट्रिय जनस्वास्थ्य चासोको विषय घोषणा गरेको छ ।

अन्य देशमा पनि यसको संक्रमण फैलिने क्रम जारी रहेपछि नेपालले हवाई तथा भूनाकाहरूमा शंकापस्द बिरामी खोजी गरी लक्षण देखिए परीक्षण गर्न सुरु गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र पौडेलले बताए । गत वर्ष नेपालमा पनि एक विदेशी नागरिकमा एमपक्स देखिएपछि सरकारले उपचार गाइडलाइन तयार गरिसकेको र सोहीअनुसार संरचना तयारी अवस्थामा रहेको महामारी शाखाका प्रमुख डा. पौडेलले बताए।

एमपक्सको लक्षण भएका कुनै पनि बिरामी आए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरी तयारी भइसकेको महाशाखाले जानकारी दिएको छ। अर्थोपो नामक भाइरसबाट एमपक्स मानिसमा सर्छ। सन् १९७० मा पहिलोपटक अफ्रिकामा यो रोग देखा परेको हो। 

सुरुका वर्षहरूमा अफ्रिकाको थोरै भागमा मात्र पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा फैलिन सुरु भएको हो। सन् २०१७, २०२२ , २०२३ र २०२४ मा विगतका वर्षहरूको तुलनामा धेरै देशमा संक्रमित भेटिँदै गएका हुन्। गत वर्ष एक सय १० वटा देशमा एमपक्स देखा परेको थियो । अर्थोपो भाइरस यौैन सम्बन्ध राखे, चुम्बन गरे, नजिकै बस्दा थुकको छिटा परे एक मानिसबाट अर्कोमा सर्छ।

यो संक्रमण भएको तीन साताभित्र लक्षण देखिन्छ। यो संंक्रमण भए ज्वरो आउने, आँखा रातो हुने, छालामा बिबिरा आउने, मुखमा घाउ हुनेजस्ता लक्षण देखिन्छन्। एमपक्सको संक्रमण भए लक्षणअनुसार उपचार गर्ने, शरीरमा प्रतिरक्षा बढाउने खानेकुरा खाने, आराम गर्नुपर्छ। यसकोे कुनै औषधि नबनेको हुनाले लक्षणअनुसारको उपचार गर्ने र अरू व्यक्तिमा नसरोेस् भनी आइसोलेसनमा बस्नुपर्छ। वृद्ध तथा बालिबालिका र दीर्घरोगीमा यो भाइरसको संक्रमण भए सर्न जटिल रूप लिने गरेको पाइन्छ।

‘तीन साता क्वारेन्टिन बस्नू’ कंगो तथा अन्य संक्रमित देशहरूबाट नेपाल फर्केका नागरिकहरूलाई घरमा आइसकेपछि तीन साता क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुझाएका छन्। नेपाली सेना शान्ति सेनामा भाग लिन विगतदेखि नै कंगोलगायत देशमा जाने–आउने क्रम जारी रहेकाले नेपालमा एमपक्सको थप जोखिम रहेको उनले बताए। उनका अनुसार यो भाइरसको असर तीन सातासम्म रहने भएकाले कंगोेजस्ता देशहरूबाट फर्किने सैनिक तथा अन्य नागरिक घर फर्केको तीन सातासम्म आफैं क्वारेन्टिनमा बस्न अनुरोध गरे।

विदेशबाट नेपाल आउनेमा लक्षण देखिएमा सीमा र हवाई नाकामा परिक्षण हुने र लक्षण नभएकाहरू घरमा क्वारेन्टिनमा बस्नु उचित भएको उनले सुझाए। ‘संक्रमणका क्रममा हुन सक्छ, लक्षण देखिन समय लाग्छ, त्यसकारण तीन सातासम्म क्वारेन्टिनमा बस्नु उचित हुन्छ,’ उनले भने। संक्रमणको जोखिम बढेपछि नेपाली सेनाले सबैका बीचमा जाने गरी व्यवस्थापन गरिसकेको निर्देशक डा. घिमिरेले बताए।

प्रकाशित: ३ भाद्र २०८१ ०६:३९ सोमबार

#nepal #Pakistan #monkeypox