स्वास्थ्य

उपत्यकामा बढ्दो डेंगी संक्रमण

केही दिनदेखि उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि डेंगी संक्रमितको संख्या वृद्धि हुन थालेपछि हेल्प डेस्क नै राखेर उपचार गर्न सुरु गरेको निर्देशक युवानिधि बसौलाले बताए। उनका अनुसार हाल यो अस्पतालमा तीनजना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन्।

चार दिनअघि डेंगीजस्तै लक्षण भएका दैनिक एक दर्जन बिरामी बहिरंग विभागमा आइरहेको अस्पतालको अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले बताए। डेंगी बिरामी बढ्न थालेपछि अस्पतालमा हेल्प डेस्क नै राखेर निःशुल्क उपचार सुरु गरेको बसौलाले जानकारी दिए।

‘सरकारले संघीय अस्पतालले निःशुल्क उपचार गर्न निर्देशन दिएपछि हामीले निःशुल्क सेवा दिन सुरु गरेका छौं,’ उनले भने। संक्रमण फैलिन थालेपछि हरेक अस्पतालभित्रै लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने अभियान सुरु गरिएको छ। ‘पहिला अस्पतालभित्रकै लामखुट्टे नष्ट गर्ने कार्यक्रम रहेको छ,’ उनले भने।

जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरले पनि डेंगी संक्रमित बढ्दै गएको जनाएको छ। ‘संक्रमित संख्या बढ्दै गएको देखिन्छ,’ ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले भने। पछिल्लो समय तनहुँ, कास्की, झापा, सुनसरी, काभे्र, चितवनलगायत जिल्लामा संक्रमित संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गत आइतबारसम्ममा देशभरिमा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ। हालसम्म देशभरि तीन हजार तीन सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।  तीमध्ये तनहुँमा ६ सय ५६, काठमाडौंमा तीन सय ३२, कास्कीमा दुई सय १२, भाफामा एक सय ४५, चिनवतमा एक सय ३५, मकवानपुरमा ८९, भोजपुरमा ८०, पर्वतमा ७६, गोरखामा ७६, काभ्रेमा ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमणले तनहुँ र कास्कीमा जस्तो प्रकोपको रूप लिइनसकेको तर लामखुट्टेको वृद्धि हुने ठाउँ रहेका कुनै पनि जिल्ला या टोलमा कुनै पनि बेला प्रकोपको रूप लिने जोखिम भएकाले लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई जारी राख्न डा. पुनले सुझाव दिए।

प्रकाशित: ३१ श्रावण २०८१ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App