स्वास्थ्य

अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा सुरु हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच प्रदेशमा सेवा सुरु गर्ने निर्णय गरेको छ। यसका लागि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले "क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१" स्वीकृत गरेका छन्।

गत असार ३१ गते, मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। जसले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण र निदान गर्ने लक्ष्य लिएको थियो। यसै क्रमलाई अघि बढाउँदै एक महिनाभित्रै कार्यविधि स्वीकृत गरेर सेवा विस्तार गर्ने योजना अघि सारेका हुन्।

यस निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अन्य भागमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन्।

भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल, वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

मन्त्री पौडेलले यसअघि सार्वजनिक गरेका प्राथमिकता र योजनामा पनि सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्ने उल्लेख थियो। जसलाई बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत कार्यान्वयनमा ल्याइएको छ।

मन्त्री पौडेलले भने, "आम नागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरी विस्तारको कार्यलाई प्राथमिकतामा राखेका छौं। संघीय अस्पतालको सेवा विस्तारसँगै अब क्यान्सर उपचार सेवा सर्वसाधारणका लागि अझै सहज हुने विश्वास लिएको छु।"

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार, अब बिरामीहरूले संघीय अस्पतालबाटै विस्तारित सेवाहरू प्राप्त गर्न सक्नेछन्, जसले गर्दा खर्च र समय दुवै बचत हुनेछ। स्याटेलाइट क्लिनिक स्थापना गरी दक्ष जनशक्ति समेत पठाउने योजना रहेकोले यो कार्य प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।

हाल संघ मातहतका तीनवटा अस्पतालहरूले मात्र क्यान्सर उपचार सेवा दिँदै आएका छन्। तर, कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालहरूले छिट्टै थप सेवाहरू उपलब्ध गराउने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०८१ १६:३२ बुधबार