स्वास्थ्य

ताप्लेजुङ अस्पतालका चिकित्सकले भने : हैजाबारे आत्तिहाल्नु पर्दैन

महामारीकै रुपमा देखा नपरेपनि ताप्लेजुङमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।  

जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरेन्द्र लिम्बूले आत्तिइहाल्नुपर्ने अवस्थाका बिरामी नभेटिएपनि हैजाबाट बच्न सावधानी र सर्तकर्ता अपनाउन भने जरुरी भएको बताए । ‘जिल्ला अस्पतालमा परीक्षणका लागि आउने बिरामीहरुको अवस्था हेर्दा सर्तकर्ता र सावधानीको जरुरी देखियो’ डाक्टर लिम्बूले भने ।  

उनले गम्भीर प्रकृतिका लक्षण देखिएका बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने गरिएको र यहाँ सम्भव हुने बिरामीको उपचार यही गरिदैं आएको जानकारी दिए । ताप्लेजुङ जिल्ला अस्पताल १५ शैयाको हो ।  

हैजा जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ । डाक्टर लिम्बूका अनुसार दुषित पानी र खानाको उपभोगबाट हैजाका जिवाणु सबैभन्दा छिटो मानिसको शरीरमा प्रवेश गर्छन् ।  

‘भिब्रिओ कोलरी’ भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ । यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ । जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ । त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ । सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन् ।  

लक्षण देखिएको केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ । यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै पनि हुन सक्छ । पखाला लाग्नु र सेतो पातलो दिसा हुनु, बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु घण्टौँसम्म बान्ता हुनु, पेट दुख्नु र खुट्टा दुख्नु जस्ता लक्षण देखिएमा हैजाको संक्रमणको जोखिम हुने गर्छ । 

बाढी र पहिरोका कारण समेत खानेपानीको मुहान दुषित हुन पुगेको र सोहि दुषित पानीका कारण समेत हैजाको जोखिम बढी हुने भएकोले शुद्ध र उमालेको खानेपानी मात्र प्रयोग गर्न चिकित्सकहरुले सुझाएका छन् । डाक्टर लिम्बूका अनुसार सरसफाइमा पूर्ण ध्यान दिने ध्यान दिने, संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने, फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने, खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले राम्ररी हात धुने, सकेसम्म उमालेको मात्र पानी पिउने, फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले राम्ररी पखाल्ने,पानीको मुहान सफा राख्ने र शौचालयमा मात्र दिसापिसाब गर्ने जस्ता उपाय अपनाएमा पनि हैजाको संक्रमणबाट बच्न सकिन्छ । 

प्रकाशित: २५ श्रावण २०८१ १३:४९ शुक्रबार

#Jilla Aspatal Taplejung #Haija Birami #Cholera patients