स्वास्थ्य

फैलँदै हैजा, देशभर १६ जनामा पुष्टि

देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ललितपुरमा ७, काठमाडौँमा ३ र धनगढीमा ६ जनामा हैजा देखिएको छ। लगातारको वर्षापछि पानीको स्रोत र खानेकुरा दूषित बनेका कारण हैजा देखिएको महाशाखाले जनाएको छ।

समयमै यसको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूबाट छलफलपछि समन्वयकारी काम भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हैजा तथा झाडापखाला दूषित पानी या खानाका कारण हुन्छ । कोलिफर्म, भिब्रियो कलेरा आदि कीटाणुले मुखभित्र पसेपछि पेटमा संक्रमण गराउने भएकाले सकेसम्म उमालेको र शुद्धीकरण गरिएको पानी पिउने, शौचालय गइसकेपछि राम्रोसँग हात धुने, फलफूल र सलाद राम्रोसँग पखालेर मात्र खाने, ताजा खानेकुरा खाने गर्नाले हैजा तथा झाडापखालाबाट बच्न सकिन्छ। 

प्रकाशित: १४ श्रावण २०८१ १४:३५ सोमबार

#Haija