स्वास्थ्य

सुरक्षाको कारण देखाउँदै टीकापुर अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प

कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गरी सुरक्षाको वातावरण नभएको भन्दै आकस्मिक बाहेकको सेवा रोकेको छ। असुरक्षित महशुस भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म काम गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्। साथै उनीहरुले आफूहरूलाई सुरक्षाको प्रत्याभूति गराइदिन हुन सम्बन्धित सरोकारवालाहरूसँग माग गरेका छन्।

घटना अनुसार यही असार १ गते राति करिब सवा दश बजे स्थानीय पदमबहादुर बोहोरा उपचारका लागि अस्पताल पुगेका थिए। उनको आकस्मिक कक्षमा उपचार भएको थियो। उनी मधुमेह र उच्च रक्तचापको दीर्घ बिरामी रहेको अस्पतालको विज्ञप्तिमै भनिएको छ।

उपचारकै क्रममा बोहोराको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो। उनलाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो। उनको उपचारका लागि धनगढी जाने क्रममा बाटोमै निधन भएको बताइएको छ।

उनका आफन्तले चिकित्सकको गलत उपचारका कारण मृत्यु भएको दाबी गरेका छन्। तत्कालीन अवस्थामा मृतकका आफन्तको विरोध पछि सो घटनाका बारेमा अध्ययन गर्न छानबिन समिति नै गठन भएको थियो। विज्ञप्ति अनुसार समितिले घटनाको छानबिन गरिरहेको छ।

सोही बेला क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने सहमति समेत भएको मृतकका आफन्तको दाबी छ। सोही सहमतिका बारेमा बुझ्न उनीहरु सोमवार (हिजो) अस्पताल गएका थिए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले त्यस्तो कुनै सहमति नभएको बताएका छन्। उनले त्यस्तो सहमति गर्ने कुनै आधार समेत नरहेको बताए।

अस्पताल पुगेका मृतकका आफन्त र अस्पताल पक्षबिच विवाद भएको थियो। विवादका क्रममा स्थिति असहज भएपछि अस्पतालको सेवा नै बन्द गरेको छ। अस्पतालको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।

अस्पतालको सेवा ठप्प हुँदा सयौँको संख्यामा आएका बिरामीहरूले उपचार पाउन सकेका छैनन्। यो कैलालीको पूर्वी भेगमा अवस्थित बिरामीको अत्याधिक चाप हुने अस्पताल हो। यहाँ कैलालीका मात्रै नभएर छिमेकी बर्दियाका बिरामीहरू समेत उपचारका लागि आउने गर्छन्। 

प्रकाशित: ८ श्रावण २०८१ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App