स्वास्थ्य

बन्दीको मानसिक स्वास्थ्य परीक्षणमा इइजी ब्रेन म्यापिङ

केन्द्रीय कारागार अस्पतालले बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षण तथा पहिचानका लागि नयाँ पद्धतिबाट उपचार सुरु गरेको छ। केन्द्रीय कारागार काठमाडौंमा रहेका बन्दीहरूको मानसिक स्वास्थ्य अवस्था निदान गर्ने उद्देश्यले नयाँ वर्षको सुरुवातसँगै इइजी ब्रेन म्यापिङ पद्धतिबाट अस्पतालले बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षण गर्दै आएको हो। यो पद्धति सरकारी अस्पतालमा पहिलोपटक कार्यान्वयन भइरहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताए।

अस्पतालमा यो सेवाले बन्दीहरूको आपराधिक मनस्थिति पहिचान गर्न र उनीहरूको उपचार र सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले इइजी ब्रेन म्यापिङ पद्धति सेवा सुरु गरिएको डा. बुढाथोकीले जानकारी दिए।

उनका अनुसार तारजडित क्यापसहितको इइजी मेसिन बिरामीको टाउकोमा जोडिन्छ र बिरामीसँग कुरा गर्ने, संगीत सुनाउने, मन्द र कडा आवाज पालैसँग सुनाउँदै ब्रेन म्यापिङ गरिन्छ।

यस्तो गर्दा बिरामीको मानसिक स्वास्थ्य र आपराधिक मानसिकता पहिचान गर्न सकिने केन्द्रीय कारागार अस्पताल मानसिक शाखाका प्रमुख तथा मानसिक रोग विशेषज्ञ डा. कञ्चन दाहालले बताए। यो पद्धतिबाट मानसिक रोग पहिचान गर्ने सरकारी तहमा केन्द्रीय कारागार अस्पताल पहिलो भएको उनले दाबी गरे। उनका अनुसार इइजी ब्रेन म्यापिङ क्यापमार्फत परीक्षण गर्दा बिरामीको मस्तिष्कमा उत्पन्न हुने तरंगका आधारमा रोगको प्रकृति पहिचान गर्न सकिने छ।

कारागारमा रहेका बिरामी फरक–फरक पृष्ठभूमि र अपराधबाट आएका हुनाले उनीहरूमा कायम आपराधिक मनोदशाको स्थिति हेर्न र नयाँ पद्धतिको विकास गर्न इइजी ब्रेन म्यापिङ सेवा उपयोगी हुने डा. दाहालले बताए।

‘पहिला बिरामीको कुरा सुनेर, लक्षण हेरेर मानसिक रोग पहिचान गरिन्थ्यो भने अहिले मानसिक विश्लेषण पद्धति पनि उपचारमा आइसकेको छ’, उनले भने। ‘यस पद्धतिले विभिन्न किसिमका मानसिक रोगको जड थाहा पाएर उपचार गर्न सकिन्छ भन्ने मान्यता राख्छ। मैले यो विधि यहाँ पनि अभ्यास गरेको छु। कतिपय अपराध मानसिक रोगसँग सम्बन्धित हुन्छन्’, डा. दाहालले जोड दिँदै भने।

बन्दी बिरामीमा अपराधको अवशेष कुन चरणमा छ र भविष्यमा पारिवारिक तथा सामाजिक पुनर्मिलनलाई सामान्यीकरण गर्न कसरी सकिन्छ भन्ने पहिचान गर्नसमेत यो पद्धति उपायोगी हुने डा. दाहाल बताउँछन्।

‘कुनै भावनात्मक आवेशमा गरिएको अपराध सधैं नरहन सक्छ, तर एकपटक सजाय तोकिएपछि समाज र परिवारले हेर्ने दृष्टिकोण सधैंका लागि आपराधिक हुन्छ भन्ने मानसिक विश्लेषण गर्न पनि यो पद्धति सहयोगी बन्छ’, उनले भने।

यो पद्धतिबाट स्वास्थ्य जाँच गर्नका लागि मानसिक चिकित्सा, प्रविधि र मानसिक विश्लेषणसम्बन्धी तालिम तथा अध्ययन लिएको जनशक्तिले मात्र यो पद्धति बिरामीमा प्रयोग गर्न सक्ने डा. दाहालले बताए। यसका लागि अस्पतालका दुईजना चिकित्सकले सातामा दुई दिनका दरले महिला र पुरुष बन्दीहरूको मानसिक स्वास्थ्य जाँच गरिरहेका छन्। नतिजाअनुसार बिरामीलाई औषधी थप्ने या घटाउने काम भइरहेको दाहालले बताए।

बन्दी जीवन जिउने र बन्दी समय सकिएपछि समाजमा फर्कने दुवै खालका बन्दीहरूको मानसिक स्वास्थ्य स्वस्थ हुन आवश्यक भएकाले मानसिक रोग उपचारमा विशेष पद्धति अपनाएको अस्पतालले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८१ ०८:०९ मंगलबार

#Detainee Mental Health Examination #Easy Brain Mapping