मानिसको जीवनमा कुनै न कुनै समय बुद्धि बङ्गाराको कारण दुःख नपाएको सायदै होला। गिजा सुन्निने, गाला सुन्निे, ज्वरो आउने, खाना खान नसक्ने, मुख खोल्न नसकिने समस्याबाट ग्रसित भएको होलाउँ तपाईं हामी। के हो त बुद्धि बङ्गारा ? बुद्धि बङ्गारा हुने समय किन असह्य पीडा हुन्छ ? के यसको समाधान छैन ? के बुद्धि बङ्गाराको कारण हामी सबैले समस्या झेल्नै पर्ने हो ? आउनुहोस् यसका कारण र समाधानका बारेमा जानकारी राखौंः
मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरी दुई पटक पलाउँछ। बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ। जुन १२–१३ वर्ष भित्रमा सबै झरिसक्छन्। ६ वर्षको उमेरमा पहिलो बङ्गारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन्। तर, १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धि बङ्गारा भन्छौं। यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुुद्धिमानी हुँदै जाने उमेर हो। यस कारणले गर्दा यस दाँतलाई बुद्धि बङ्गारा नामाकरण गरिएको मानिन्छ।
बुद्धि बङ्गाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहङले काँचो मासु चपाउन, जङ्गली खानेकुरा खान उपयोग गर्दथे। मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धि बङ्गाराको कम प्रयोग हुन थाल्यो। जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न। त्यसैले आजकल यी दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ।
कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ। यसो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ। यसको सदुपयोग नहुनाले आजकल यसलाई भेस्टिजिल अर्गनमा पनि गनिन्छ। यसरी दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ। खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर सङ्क्रमण सुरु हुन्छ।
सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ र खान पिउन गाह्रो सक्छ। कहिले कहिले सास फेर्न पनि गाह्रो हुन सक्छ। गिजा पाक्ने अवस्थालाई पेरिक्रोनाइटिस भनिन्छ। र, पनि सङ्क्रमण फैलिँदा त्यसलाई स्पेस इन्फेक्शन भनिन्छ।
अन्य समस्याहरूः
हड्डी भित्र लुकेर बसेको बुद्धि बङ्गाराले त्यसको नजिक रहेको अर्को बङ्गाराको जरा खियाई दिने।
अर्को दाँतमा किरा लाग्ने।
अर्को दाँतलाई धकेलिदिने जस कारणले गर्दा मुखमा अन्य दाँतलाई ठाउँ कम गरिदिने। हड्डि खियाई दिने।
यस्ता दाँतले गर्दा मुखमा सिस्ट÷ट्यूमर जस्ता रोग लाग्न सक्छ।
हेर्दा सानो तर, पछि त्यस्तो दाँतले ठूलै रुप लिन सक्छ त्यसैले बेलैमा उपचार गर्न सचेत हुनुपर्छ।
जनमानसमा बुद्धि बङ्गारा निकाल्दा बुद्धि हराउने, आँखामा असर पार्ने, दिमागमा असर पार्ने जस्ता मिथ्या कुराले जरो गाडेका देखिन्छ। यो र यस्ता भ्रमहरूलाई चिर्दै शल्यक्रिया गरी यसको समाधान गर्न सकिन्छ।
यस्ता शल्यक्रिया १५–१८ वर्षमा गर्दा बढि फाइदा हुन्छ। यो उमेरमा घाउ छिटो निको हुन्छ। र भविष्यमा आउने समस्या रोकन सकिन्छ। ३५ वर्षपछि हुनाले शल्यक्रिया गर्न गाह्रो हुने गर्दछ।
सन् १९५० मा दाँतको एक्सरे गर्ने मेसिनको विकाससँगै सामान्य लठ्याउने औषधि दिएर यसको शल्यक्रिया गर्न एकदम मद्दत पुगेको छ। यसको समाधानका लागि बिरामील सही दन्त चिकित्सकको पहिचान गरी शल्यक्रिया गरिएको खण्डमा रोगको निदान सही ढंगबाट हुन्छ।
अन्यथा अनावश्यक समस्याबाट गुज्रनु पर्ने, पैसा र समयको बर्बादीका साथसाथै मानसिक तनावबाट जीवन व्यतित गर्नुपर्ने हुन्छ। आजैबाट आफ्नो मुखको परीक्षण गराउँ, स्वस्थ भएर जीवनयापन गरौं।
(दन्त रोग विशेषज्ञ डा.विकास देसारसँगको कुराकानीमा आधारित)
प्रकाशित: २१ असार २०८१ १०:०७ शुक्रबार