स्वास्थ्य

सरकारी अस्पतालका समस्या अध्ययन गर्न विशेष समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा देखिएका समस्याहरू अध्ययन गर्न विशेष समिति गठन गरेको छ।

सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न स्वास्थ्यमन्त्री प्रदीप यादवले तीन सदस्यीय समिति गठन गरेका हुन्।

शुक्रबार मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय समिति गठन गरेका हुन्।

उक्त अध्ययन समितिमा डा. मदन कुमार उपाध्याय सदस्य रहेका छन् भने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन्।

समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन पेश गर्न मन्त्री यादवले निर्देशन दिएका छन्। समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ।

संघीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको मन्त्री यादवले बताए।

अनुगमनका क्रममा बिरामीले शल्यक्रियाका लागि के–कस्ता कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ।

त्यस्तै, समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ। ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उनीहरुले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि संकलन गर्नेछ।

अस्पतालहरूमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवं अन्य पूर्वाधारहरुको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रुपमा प्रवाह गर्न सुझाव पेश गर्ने जिम्मेवारी पनि समितिलाई छ।

मन्त्री यादवले समितिलाई समस्याको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने), र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित: १८ जेष्ठ २०८१ १९:४० शुक्रबार