स्वास्थ्य

९५ जना मोतियाविन्दुका बिरामीले पाए ज्योति

शल्यक्रिया गर्नुअघि आँखा जँचाउँदै चौधरी आँखा अस्पतालका डा. दिवाकर । तस्बिर : महेश्वर

यस वर्षको गणतन्त्र दिवसमा उदयपुरका झन्डै सयजनाले आँखाको ज्योति पाएका छन्। ‘१७औँ गणतन्त्र दिवस’ का अवसरमा आयोजित आँखा शिविरमा ९५ जना मोतियाविन्दुका बिरामीको आँखाको ज्योति फर्केको हो।

नेपाल नेत्रज्योति संघ उदयपुरले चौधरी आँखा अस्पतालसँगको सहकार्यमा सदरमुकाम गाईघाटमा मोतियाविन्दुका बिरामीको आँखा शल्यक्रिया गर्न शिविर आयोजना गरेको हो, जसबाट ५५ महिलासहित ९५ मोतियाविन्दुका बिरामीको आँखा उपचार भएको हो। मंगलबार र बुधबार गरी २ दिन सञ्चालन भएको शिविरमार्फत अघिल्लो दिन ५४ जना र बुधबार ४१ जनाले ज्योति पाएका हुन्।

नेत्रज्योति संघ उदयपुरमा अध्यक्ष भागवत राउतका अनुसार यसअघि जिल्लाका विभिन्न स्थानीय तहमा आयोजित ‘आँखा जाँच शिविर’ मा फेखा परेका मोतियाविन्दुका बिरामीको उपचारका लागि शल्यक्रिया शिविर सञ्चालन गरिएको हो।

गाउँगाउँमा रहेका मोतियाविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल भवनमा ल्याएर ज्योति फर्काइएको अध्यक्ष राउतले बताए।

प्रकाशित: १७ जेष्ठ २०८१ ०८:५८ बिहीबार

The light of the eye