स्वास्थ्य

अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान

अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान सुरु हुने भएको छ। अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।

मन्त्रालयले डेङ्गी अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्ध रूपमा खोप अभियानमा समेटिने बताएको छ।

मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको र दुई सय ९१ जनाको मृत्यु भएको छ।

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छ। रासस

प्रकाशित: २८ वैशाख २०८१ १२:५७ शुक्रबार

#argentina #dengue #vaccine