स्वास्थ्य

स्वास्थ्य बिमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बिमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो।

सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ। यस्ता सूचना÷विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना÷विज्ञापनमा नहेर्नसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ।’

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए।

उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्री प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन्। –रासस

प्रकाशित: ७ वैशाख २०८१ १७:२३ शुक्रबार

स्वास्थ्य बिमा भ्रामक सूचना स्वास्थ्य मन्त्रालयको अनुरोध