स्वास्थ्य

कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरोगको संक्रमण देखिएको थियो। जबकि चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन्। चालु आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।  

यस्तै, सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए।

उनका अनुसार जाजरकोटमा ८६, कालिकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको आठ महिनामा फेला परेका छन्।

कर्णालीमा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको जनाउँदै पङ्गालीले बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताए। –रासस

प्रकाशित: १४ चैत्र २०८० १३:४० बुधबार

क्षयरोगका बिरामी कर्णालीमा क्षयरोग नौ सय तीन जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत