स्वास्थ्य

डा. रुइतलाई गृहजिल्लामा अभिनन्दन

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई गृहजिल्ला ताप्लेजुङमा नागरिक अभिनन्दन गरिएको छ। आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले नागरिक अभिनन्दनसहित सम्मान गरेको हो।

ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन्। यहाँ आयोजित तीनदिने निःशुल्क आँखा शिविर समापन कार्यक्रममा शुक्रबार साँझ उनलाई अभिनन्दन गरिएको हो।

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा. रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहेका छन्। यहाँ आयोजित शिविरमा उनी नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो।

कार्यक्रममा डा. रुइतले नेपाल नेत्र ज्योति संघ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गरे। गृहजिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए। –रासस

प्रकाशित: १९ फाल्गुन २०८० ०९:३१ शनिबार

नागरिक अभिनन्दन नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत गृहजिल्ला ताप्लेजुङ नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ