स्वास्थ्य

फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान

सरकारले फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने छ।

दादुरा, रुबेला निकै सङ्क्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन खोप अभियान सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका अनुसार अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने छ। नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ।  

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप अभियान अन्तर्गत करिव ५७ लाखभन्दा बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए।

उनका अनुसार काठमाडौँ उपत्यकासहितका २४ जिल्लामा दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका तराईका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने बताए।

उनका अनुसार बाँकी ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ। बाँकी २ जिल्ला जाजरकोट र रुकुमपश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन भइसकेको छ।

डा.गौतमले सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए।

प्रकाशित: ९ फाल्गुन २०८० १४:१६ बुधबार

दादुरा–रुबेला खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बालबालिका