स्वास्थ्य

नीलो झन्डाले चिनाउँछ गर्भवतीको घर

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ।

पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम सुरुआत गरिएको हो।  

उक्त झन्डामा गर्भवती आमा, ६ महिनासम्मका स्तनपान गर्ने बच्चा, ६ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि सुनौला हजार दिनका आमाका घर पहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झन्डा राख्ने कामको सुरुआत गरिएको हो।  

गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन्। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झन्डा राखिएको वडा २ स्थित धन्सार आधारभूत स्वास्थ्य चौकीको इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन्।

गर्भवती महिला सुत्केरी नहुञ्जेल गर्भजाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताइन्। –रासस

प्रकाशित: ९ फाल्गुन २०८० १३:२९ बुधबार

बलेफी गाउँपालिका नीलो झन्डा गर्भवतीको घर पहिचान पोषण तथा खाद्य सुरक्षा नेपाल