स्वास्थ्य

माओवादी केन्द्रको अगुवाईमा वीपी प्रतिष्ठानको गेट डोजर लगाएर भत्काइयो

डोजर लगाएर भत्काइएको वीपी प्रतिष्ठानको दक्षिणी गेट। तस्बिर/नागरिक।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा डोजर लगाएर भत्काइएको छ।

शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो। नेकपा माओवादी केन्द्रले गत भदौदेखि सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत दक्षिणी गेट खुल्ला गर्नुपर्ने माग गर्दै आएको थियो। उक्त गेट बन्द हुँदा वडा ८ र १९ का जनता मारमा परेको माओवादी केन्द्रको भनाइ छ।

शनिवार दिउँसो गेट भत्काएपछि डोजर मालिक प्रदिप क्षेत्री र अपरेटर उदिम खड्का पक्राउ परेका छन्। माओवादी केन्द्रका नेता सन्तोष लिम्बुले माओवादी केन्द्रको अगुवाईमा जनताले गेट भत्काएको दाबी गर्दे निर्दोष मालिक र अपरेटर पक्राउ गरेको बताए। उनले आफुहरु जिम्मा लिन तयार रहेकोले उनीहरुलाई छोडेर आफुहरु समात्न प्रहरीलाई आग्रह गरेपनि नमानेको बताए।

लिम्बुले १३ औं पटकसम्म पनि वीपीका पदाधिकारीहरुसँग वार्ता, छलफल गर्दा पनि सुनुवाई नभएपछि उक्त कदम चालिएको बताए। ‘हामीले जर्बजस्ती गरेको होइन, पटक पटकको अनुरोध सुनुवाई नगरेपछि जनताको कामलाई अगुवाई गरेका हौं,’ उनले भने।

‘सामान्य प्रशासनबाट कानुनी प्रक्रियामा जान्छौं,’उनले भने,‘कस्ले गरेको भनेर अनुसन्धानले देखाउला।’ उनले दक्षिणी गेट खोल्न माग आएपनि सुरक्षाको कारण पुरा गर्न नसकिने जवाफ दिइसकेको पनि बताए। ‘यो सार्वजनिक संस्था हो। शिक्षक, कर्मचारी सुरक्षित भयो भने न सहजरुपमा जनतालाई सेवा दिन्छ,’उनले भने,‘पुर्वाधार पनि छैन, बाटो साघुरो छ, अहिले खोल्न सकिदैन भनेका थियौं।’

प्रकाशित: ६ फाल्गुन २०८० १०:११ आइतबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेकपा माओवादी केन्द्र पञ्चायन डोजर माओवादी विशेष रुपान्तरण अभियान