स्वास्थ्य

लुम्बिनी विराट् चक्र विज्ञान चैतमा

भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आगामी चैतमा विराट् चक्र विज्ञान आयोजना हुने भएको छ। गौतमबुद्धले सुरु गरेको ध्यान अभियानलाई निरन्तरता दिने उद्देश्यस्वरुप जीवन विज्ञानले यो कार्यक्रम बृहत् रूपमा आयोजना गर्न लागेको हो।  

‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराका साथ आयोजना गरिने यस विराट् चक्र विज्ञान महायज्ञमा पाँच हजार एकजनाको सहभागिता रहने जीवन विज्ञानले जनाएको छ।

जीवन विज्ञानका विशेषज्ञद्वय एलपी भानु शर्मा र रमेश नेपालले प्रशिक्षण दिने यो योग र ध्यान महायज्ञ विश्वमै पहिलोपटक आयोजना हुँदै छ। सातदिने यस प्रशिक्षण कार्यक्रममा विश्वका विभिन्न मुलुकबाट प्रशिक्षार्थी सहभागी हुने बताइएको छ।

आध्यात्मिक चेतनाको जागरणविना परिवर्तन सम्भव रहेनछ भन्ने विषयलाई संयुक्त राष्ट्रसंघले समेत महसुस गरिसकेकाले यसैको परिणामस्वरुप बृहत् रूपमा हाम्रो यो अभियान सञ्चालन हुन लागेको जीवन विकास विशेषज्ञ शर्माले बताए।

मानिसभित्र सातवटा क्षमता रहेका छन्। तिनलाई जगाएर मानिसमा प्रेम, शक्ति र आनन्द भर्दै व्यक्ति, परिवार, समाज, मुलुकको उन्नति र प्रगतिमा उत्प्रेरित गर्नु र विश्वको ध्यानाकर्षण गराउनु यस विराट् महायज्ञको उद्देश्य रहेको छ। यो कार्यक्रम आगामी चैत १७ देखि २३ सम्म चल्ने छ।

प्रकाशित: २ फाल्गुन २०८० १३:२२ बुधबार

बुद्धको ज्ञान लुम्बिनीमा ध्यान विराट् चक्र विज्ञान चैत १७ देखि २३ ध्यान अभियान जीवन विज्ञान