स्वास्थ्य

ललितपुरले विद्यालयमै दादुरा–रुवेला खोप दिने

फाइल तस्बिर।

ललितपुर जिल्लामा रहेका सबै विद्यालयमा दादुरा रुवेला खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

फागुन १३ देखि अभियानकै रूपमा खोप सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका सूचना अधिकारी पार्थमणि न्यौपानेले जानकारी दिएका हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ सय ५० भन्दा बढी विद्यार्थी रहेका हरेक विद्यालयमा खोप केन्द्र राखेर खोप अभियान चलाउन लागिएको हो। 

अभियान अन्तर्गत २ लाख २ हजार बालबालिकालाई खोप दिने लक्ष्य छ। अभियानमा ९ महिनामाथि र १५ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ।

सरकारको नियमित खोप कार्यक्रममा समेटिन नसकेका बालबालिकालाई लक्षित गरी सरकारले १६ वर्षदेखि यो अभियान चलाउँदै आएको छ। यसअघि सन् २००८,सन् २०१२, सन् २०१६ र सन् २०२० मा अभियान सञ्चालन गरिसकेको थियो।

त्यसै गरी कुनै पनि बालबालिका नछुटुन् भनेर वडा स्तरीय स्वयंसेविकालाई परामर्श तालिम दिने कार्यक्रम रहको छ। 

नियमित खोपबाट छुटेका बालबालिका लागि विश्व स्वास्थ्य सङ्गठन मार्फत खोप अभियानको अन्तर्राष्ट्रिय संस्था गाभी मार्फत दादुरा रुवेलाको खोप उपलब्ध गराइएको हो। 

सरकारले पहिला नै निवारण गर्ने भनिएको दादुरा–रुवेला सफल नभएपछि सन् २०२६ मा निवारण गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित: २४ माघ २०८० १८:४८ बुधबार