स्वास्थ्य

आकस्मिक गर्भनिरोधक चक्की: जथाभावी प्रयोग गर्दा जोखिम

फाइल तस्वीर

काठमाडौंकी २३ वर्षीया सिर्जना शर्मा (नाम, थर परिवर्तन) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन्। उनी निरन्तर रक्तश्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन्। उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन्। उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन्। ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भनिन्।

 
एक महिनाअघि उपचारकै लागि प्रसूति गृह पुगेकी काठमाडौंकै २८ वर्षीया मीरा केसी (नाम, थर परिवर्तन) पनि अविवाहित हुन्। उनी पनि पे्रमीसँग सम्बन्धमा छन्। तत्काल बिहे गर्ने योजनामा उनी छैनन्। पे्रमीसँग भने यौन सम्पर्क भइरहन्छ। यसैकारण उनले पनि पटकपटक आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरिन्।

कहिलेकाहीं महिनावारी बन्द हुने त छँदै थियो तर लगातार दुई सातासम्म रक्तश्राव हुने समस्या आएपछि उनी उपचारमा अस्पताल पुगेकी थिइन्। उनको उपचारमा संलग्न चिकित्सक डा. श्रेष्ठका अनुसार पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गरेकै कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिएको छ। 


यी दुई युवती प्रतिनिधि पात्र मात्र हुन्। पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन्। आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन्।

‘धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भनिन्। यो चक्की अविवाहितले बढी प्रयोग गरेको डा. श्रेष्ठ बताउँछिन्। 
भक्तपुरको एक फार्मेसीका अनुसार आकस्मिक गर्भनिरोेधक चक्कीको प्रयोग गर्नेमा युवावयका र अविवाहित बढी छन्। फार्मेसीका एक कर्मचारीका अनुसार उनको पसलबाट मासिक एक सय चक्कीजति बिक्री हुन्छ। किन्न आउने धेरैजसो १८ देखि २५ वर्षभित्रका बढी हुन्छन्। काठमाडौंको कमलपोखरीस्थित नम्रता मेडिकलका अनुसार दैनिक दुईदेखि तीनवटा आकस्मिक गर्भनिरोधक चक्की बिक्री हुन्छ। मोडेल अस्पतालनजिकैको एक फार्मेसीका सञ्चालकले पनि आकस्मिक गर्भनिरोेधक चक्कीको माग केही वर्षअघिको तुलनामा अहिले घटेको छ।


पहिलाको तुलनामा यो चक्की प्रयोगबारे जनचेतना बढेजस्तो अनुभव चिकित्सक र फार्मेसिस्ट दुवैले गरे पनि विवाहअघि सम्बन्धमा बसेका र कतिपय विवाहितले यो चक्कीलाई आपत्कालीन नभई गर्भििनरोधकका रूपमा प्रयोग गर्दै आएका छन्। चिकित्सकका अनुसार यो चक्की ६ महिना या वर्ष दिनमा कुनै आपत्कालीन समयमा प्रयोग मिल्ने गरी बनाइएको हुन्छ। गर्भनिरोधक भएकाले हर्मोनको धेरै मात्रा यो चक्कीमा हुन्छ। त्यसमाथि पटकपटक प्रयोग गर्दा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ।

प्रोजोस्टोन हर्मोन भएकाले यसले गर्भ हुनबाट रोेक्छ। शरीरमा पहिला नै प्रोजोस्टोन हर्मोन हुन्छ। आकस्मिक गर्भनिरोधक चक्कीमा यो हर्मोनको धेरै मात्रा हुन्छ। यो चक्की पटक–पटक प्रयोग गरे स्वास्थ्यमा प्रतिकूल असर पर्ने हर्मोन विशेषज्ञ डा. ज्योति भट्टराई बताउँछिन्। यो हर्मोनका कारण महिनावारीमा गडबडी हुने, अत्यधिक रक्तश्राव हुनेजस्ता समस्या आउँछन्।

‘कसैलाई त दुई सातासम्म निरन्तर रक्तश्राव भएको पनि पाइयो,’ डा. गुरुङले भनिन्। रक्तश्राव लगातार भयो भने रक्तअल्पता हुने, रक्तअल्पताले कमजोर हुने, थकाइ बढी लाग्नेजस्ता जटिल समस्या आउन सक्ने चिकित्सक बताउँछन्। ‘धेरै रक्तश्राव भएपछि रक्तअल्पता हुन्छ। जसले समग्र स्वास्थ्यमा गम्भीर असर पार्छ,’ डा. श्रेष्ठले भनिन्।

सुरक्षित यौन सम्पर्कका नाममा आकस्मिक गर्भनिरोधक चक्कीभन्दा कन्डम प्रयोग गर्नु उचित हुने चिकित्सकहरूको सुझाव छ। कन्डमको प्रयोगबाट गर्भ नरहने र कुनै पनि यौन रोग संक्रमणबाट बच्न सकिने भएकाले विवाहित र अविवाहित दुवैले यसको प्रयोगमा जोड दिनु नै सुरक्षित उपाय भएको डा. श्रेष्ठ बताउँछिन्।

‘कुनै पनि हर्मोन शरीरमा बढी भयो भने त्यसको अन्य असर पर्न सक्छ, यसको सट्टा कन्डम प्रयोग गर्नु राम्रो हुन्छ,’ उनले भनिन्। 
सन् २०१८ मा संयुक्त राष्ट्रसंघीय विकास कोषले गरेको अनुसन्धानअनुसार पटक–पटक आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नेको संख्या धेरै पाइएको छ। १५ देखि १९ वर्ष उमेरका ५८ प्रतिशत, २० देखि २४ वर्ष उमेरका ६९ प्रतिशत, २५ देखि २९ वर्ष उमेरका ३७ .५ प्रतिशत र ३० वर्ष उमेर माथिका ६९ प्रतिशतले यो चक्की प्रयोग गरेको उक्त अनुसन्धानले देखाएको छ।

प्रकाशित: २० माघ २०८० ०६:१० शनिबार

आकस्मिक गर्भनिरोधक चक्की संयुक्त राष्ट्रसंघीय विकास कोष