स्वास्थ्य

नेपालमा क्षयरोगीको उच्च भार, उन्मूलनमा चुनौतीका चाङ

सरकारले सन् २०५० भित्रमा नेपालबाट क्षयरोग उन्मूलन गर्ने भने पनि चुनौती नै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘सूर्तिजन्य पदार्थ प्रयोग अन्त्य, क्षयरोगको अन्त्य’विषयक कार्यक्रममा उपस्थित विज्ञहरूले यस्तो जानकारी दिएका हुन्।

विज्ञहरूका अनुसार दक्षिणपूर्वी एसियाअन्तर्गत क्षयरोगका बिरामी हाम्रै क्षेत्रमा बढी छन्। नेपालमा क्षयरोगको भार दक्षिणपूर्वी एसियामा छैटौं स्थानमा रहेको छ। दिगो विकासका लक्ष्यअनुसार अबको ११ वर्षमा २०१५ को तथ्यांकभन्दा ९० प्रतिशत बिरामी दर घटाउनुपर्छ।

त्यसैगरी ९५ प्रतिशत क्षयरोगले हुने मृत्यु घटाउनुपर्र्ने लक्ष्य छ। तर त्यो लक्ष्यअनुसार घटाउन धेरै ठूलो चुनौती रहेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए।

उनका अनुसार सन् २०१९ भन्दा अघि गरिएको एउटा सर्वेक्षणले नेपालमा क्षयरोगको भार कम रहेको र उपचारसमेत प्रभावकारी रहेको औंल्याएकामा पछिल्लो राष्ट्रिय क्षयरोग सर्वेक्षणले क्षयरोगमा नयाँ संक्रमणदर बढी भएको औंल्याउनुले नयाँ संक्रमित दर पहिलाको भन्दा बढी भएको उनले बताए।

सन् २०१५ तिर गरिएको एक सर्वेक्षणले नेपालमा क्षयरोगको नयाँ संक्रमणदर प्रति १० लाखमा १४१ रहेको छ भने सन् २०१९ मा प्रति १० लाखमा २ सय ४५ जना नयाँ संक्रमित रहेको तथ्यांक छ। यो हिसाबले क्षयरोग भार घटेको र उपचार प्रभावकारी भएको भनिएको तथ्यविपरीत तथ्यांक आएको डा. श्रेष्ठले बताए।

‘नयाँ संक्रमणदर बढ्नु आफैंमा चुनौती हो,’ उनले भने ।विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ६९ हजार जना नयाँ संक्रमित थपिने गरेका छन्। तर राष्ट्रिय क्षयरोग केन्द्रमा गत वर्ष ३७ हजार ७७७ नयाँ क्षयरोगी संम्पर्कमा आएका थिए भने यो वर्ष ३७ हजार ५ सय सम्पर्कमा आएका छन्।

बाँकी संख्या सम्पर्कमा नआउनुको कारण केही क्षयरोगीले क्लिनिकको सट्टा अन्य निजी स्वास्थ्य संस्थाबाट औषधी किनेर खाने गरेको डा. श्रेष्ठले बताए। धेरै संख्या समुदायमै रहेको र सम्पर्कमा आउन नसकेको उनको भनाइ छ। यो संख्यालाई पहिचान गरी उपचारमा ल्याउनु अहिलेको चुनौती रहेको उनको भनाइ छ।  

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी क्षयरोगी तीनवटा प्रदेशमा रहेका छन्। सबैभन्दा बढी मधेस प्रदेशमा २४ प्रतिशत, बागमतीमा २३ प्रतिशत र लुम्बिनीमा २१ प्रतिशत क्षयरोगको भार रहेको तथ्यांक छ। यो हिसाबले यी तीन प्रदेशमा मात्र कुल क्षयरोगीकोे संख्या ६८ प्रतिशत छ।

पछिल्लो अध्ययनअनुसार नेपालमा क्षयरोगीको उपचार प्रभावकारी देखिएको छ। क्षयरोग हुनुका कारणमध्ये कुपोषण नियन्त्रणमा मुख्य चुनौती रहेको अध्ययनले औंल्याएको छ। कुपोषण हुनेमा क्षयरोग संक्रमण सजिलै हुने, त्यसैगरी मदिरा तथा धूमपान प्रयोगकर्तामा पनि क्षयरोग बढी मात्रामा देखिन्छ।

नेपालमा धूमपान र मदिरासेवन गर्नेहरू ठुलो संख्यामा रहेका छन्। त्यसपछि मधुमेह, क्यान्सर र एचआइभी संक्रमितमा पनि क्षयरोगको संक्रमण उच्च दरमा देखिएको छ। यी कारकतत्त्वका साथै छिमेकी देश भारतसँगको खुला सिमाना पनि मुख्य समस्या रहेको उनको भनाइ छ।

‘नेपाल–भारत आवतजावत खुला सिमानाको कारण बढी छ, यो क्षयरोग संक्रमण नियन्त्रणमा मुख्य चुनौैती देखिन्छ,’ डा. श्रेष्ठले भने।

सन् २०३५ सम्ममा क्षयरोग न्यूनीकरणको लक्ष्य हासिल गर्न नेपालले आम मानिसमा क्षयरोगको परीक्षण, क्षयरोेगीको पूर्ण उपचार गर्ने र उनीहरूको प्र्रभावकारी उपचार गर्ने, जोखिम गाउँमा डिजिटल एक्सरेसहित परीक्षण गर्ने जस्ता नीति तथा कार्यक्रम अपाउनुपर्ने इन्टरनेसनल क्षयरोग र छातिरोगविरुद्ध अन्तर्राष्ट्रिय युनियनका अध्यक्ष प्राध्यापक गाय माक्र्सले सुझाए। उनले भने, ‘धेरै मानिसमा एकैपटक परीक्षण हुनुपर्छ,’ उनले भने।

नेपालमा धूमपान नियन्त्रण, कुपोषण र खुला सिमाना कायम रहेसम्म क्षयरोग नियन्त्रण कहिल्यै नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले बताए।

उनले भने, ‘अहिले पनि स्कुल तहका किशोर–किशोरीले धेरैले धूपमान प्रयोग गर्ने प्रवृत्ति बढेको छ,’ डा. देवकोटाले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका भक्त केसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कानुन विभागका उपसचिव गोपीकृष्ण रेग्मीले धूमपानविरुद्धको ऐन कार्यान्वयनमा कानुनी त्रुटि रहेको बताए। यसका साथै १५ वर्षभित्र लक्ष्य हासिल गर्न क्षयरोग नियन्त्रणमा विशेष नीति र कार्यक्रमका साथ अघि बढ्नुपर्ने उनीहरूले सुझाएका छन्। लक्ष्य हासिल गर्नका लागि जोखिमयुक्त १२५ वटा स्थानीय निकायमा खोजपडताल तथा उपचार कार्यक्रम अघि बढाइसकेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

प्रकाशित: १३ माघ २०८० ०२:१६ शनिबार

उन्मूलनमा चुनौतीका चाङ नेपालमा क्षयरोगीको उच्च भार सूर्तिजन्य पदार्थ प्रयोग अन्त्य क्षयरोगको अन्त्य