स्वास्थ्य

कोशीमा डेंगुबाट ६ महिनाको अवधिमा १८ जनाको मृत्यु

साउन यता कोशी प्रदेशमा डेंगु रोगबाट १८ जनाले ज्यान गुमाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले साउनदेखि यता डेंगु रोगबाट १८ जनाको मृत्यु भएको जानकारी दिइन्।

कोशी प्रदेशमा साउन यता ३८ हजार २ सय ७३ जना डेंगुबाट संक्रमित भएको उनले बताइन्। उनका अनुसार सबैभन्दा बढी सुनसरीमा २० हजार ८९ जना संक्रमित भएका छन्। 

उष्णप्रदेशीय रोगको संक्रमणबाट ठूलो संख्यामा मानिसहरु बिरामी पर्ने र मृत्युसमेत हुने गरेको भए पनि सरकारले यस्ता रोग नियन्त्रणमा पर्याप्त चासो नदेखाएको सरोकारवालाहरुले गुनासो गरेका छन्।

नेपालमा देखापरेका उपेक्षित उष्णप्रदेशीय रोगहरु नियन्त्रणमा राज्यको प्राथमिकता कम भएको सरोकारवालाहरुले बताए। सरकारले प्रतिबद्धता जनाए पनि प्राथमिकतामा पर्न नसक्दा सन् २०२० भित्रमा उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई निवारण गर्न नसकिएको उनीहरुले बताएका हुन्। 

उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारबाट अत्यन्तै न्यून बजेट विनियोजन हुने गरेको पाइएको छ। आगामी जनबरी २८ मा मनाइने विश्व कुष्ठरोग दिवस र जनबरी ३० मा मनाइने विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले उपेक्षित उष्णप्रदेशीय रोगमध्ये हात्तीपाइले, जुका, कुष्ठरोग र कालाजार सन् २०२० भित्र निवारण गर्ने भनिए पनि अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए।

प्राथमिक स्वास्थ्य सेवासँग उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई एकीकृत गर्न नसक्दा पनि समस्या भएको बस्नेतले बताए। 

उनले उपेक्षित रोगहरु नियन्त्रणका लागि बहु क्षेत्रीय सहकार्यको कमी भएको बताए। उपेक्षित उष्णप्रदेशीय रोगहरु गर्मी ठाउँमा रहेका सीमान्तकृत समुदायमा धेरै असर गरेको पाइएको बस्नेतको भनाइ छ।

प्रकाशित: ८ माघ २०८० १२:५६ सोमबार