स्वास्थ्य

काेभिड सुरक्षा अपनाउन आग्रह

पछिल्लो साता कोभिड १९ संक्रमितको संंख्या बढ्दै गर्दा निगरानी तथा सुरक्षात्मक उपाय बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुरोध गरेको छ। डब्लुएचओको दक्षिण पूर्वी एसिया कार्यालयका अनुसार कोभिड १९ को जेएन १ नामक सबभेरियन्टका कारण संक्रमण बढ्न सक्ने देखिएको हो।

‘कोभिड १९ भाइरस निरन्तर उत्परिवर्तित भएर विश्वभर फैलने गरेको छ। तत्काललाई जेएन १ भेरियन्टले ठुलो जोखिम निम्त्याउने नदेखिए पनि हामीले यसलाई निगरानी र रोगबाट बच्ने सुरक्षात्मक उपायमा ध्यान दिनु जरुरी छ,’ कार्यालयकी क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गरेर भनेकी छन्।

यो भेरियन्टको बढ्दो फैलावटसँगै संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेर परिभाषित गरेको छ। पछिल्लो साता यो भेरियन्ट विश्वका कैयौं देशमा देखिएको छ।

विशेषत: हिउँद याम सुरु हुन लागेकाले यो भाइरसको संक्रामकता बढ्न सक्ने मानिएको छ। ‘यो याममा हुने बिदाका कारण धेरै मानिस यात्रा गर्छन् भने अर्कातिर जाडोबाट बच्न राम्रोसँग भेन्टिलेसन नभएका बन्द कोठामा बस्छन्। यी दुवै कारणले भाइरसको फैलावट हुन सक्छ,’ क्षेत्रीय निर्देशक सिंहले भनेकी छन्। उनले खोप कार्यक्रमलाई अगाडि बढाउन र जोखिममा रहेका समुदायलाई सुरक्षा गर्न आवश्यक रहेको बताएकी छन्।

प्रकाशित: ९ पुस २०८० ०१:१४ सोमबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पुनम क्षेत्रपाल सिंह जोखिममा रहेका समुदाय