स्वास्थ्य

स्वास्थ्य सचेतनाका लागि श्रीलङ्का टापुका बासिन्दालाई स्वास्थ्य शिविर

<br>

सप्तकोसीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो पार गरेर करिब ३ किलोमिटर बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको टापुमा छरपस्ट कच्ची घरहरू छन्।यो बस्तीमा स्वास्थ्य सेवाको अवस्थाको कुरा गर्दा ज्वरो (भुखार) आउँदा स्थानीय गढैया चौकीमा जाने उनीहरूको सबै भन्दा ठूलो डाक्टर अनमिलाई मान्छन्। १२ हजारभन्दा बढीको बस्ती भएको श्रीलङ्का टापुको नामले चिनिने वस्तीका बासिन्दाका लागि मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको  छ।

वराहक्षेत्र वडा नं. ६ र ९ मा विभाजित भएको मधेसको आदिवासी चन्द वंशी लगायत सबै खाले जातजाति पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको श्रीलङ्का टापुमा वराहक्षेत्र नगरपालिकासँगै नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा भएको हो।शिविरमा जेनेरल फिजिसियन, स्त्री रोग, प्रसूति जाँच तथा भिडियो एक्सरे सेवा , हाड जोर्नी तथा नशा रोग जाँच सेवा, बाल रोग जाँच सेवा, युरोलोजिष्ट सेवा ( पिसाब सम्बन्धी रोग ), नि–शुल्क शल्यक्रिया तथा औषधी वितरण सहित आँखा जाँच सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले चेक जाँच तथा परामर्श दिएका थिए।

श्रीलङ्का टापुमा अधिकांश दम्पतीका औसत ५ जना सन्तान छन्। ५, ६, ७ जना बच्चा पाएपछि मात्र स्थानीय महिला परिवार नियोजन गर्न तयार हुन्छन्। यसबारे पनि शिविरमा सहभागीलाई आवश्यक सुझाव दिइएको वराहक्षेत्र नगरपालिकाका प्रेस संयोजक संगम विष्टले बताए।

श्रीलङ्का टापुका महिला भने राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित छन्। टापु बासी आधारभूत स्वास्थ्य सेवाबाट समेत टाढा रहेकाले शिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए। ‘टापुका बासिन्दाका लागि आधारभूत आवश्यकताका पूरा गराउने कार्यमा नगरपालिका लागि परेको छ। स्वास्थ्यसँगै शिक्षा, खानेपानी, सुरक्षा , सिचाई , यातायात सेवा पु¥याउन नगरपालिकाले योजना बनाएर काम गर्नेछ,’ उनले भने, ‘शिविर आयोजना गरेर स्वास्थ्य सम्बन्धी सचेतना र जनचेतना बढाउन खोजेका हौ।’

टापुको जीवनयापन  कृषि र पशुपालनमा निर्भर छ। कोसीको बहावसँगे यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ।कोसीको तटबन्ध निर्माणका बेल भारतबाट आएका बङ्गाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ। जो यही घरजम गरेर नेपाली नागरिक भैसकेका छन्। 

प्रकाशित: ३ पुस २०८० १३:०३ मंगलबार

स्वास्थ्य सचेतना श्रीलङ्का टापुका बासिन्दा