स्वास्थ्य

एन्टिबायोटिक परीक्षण नहुँदा गम्भीर समस्या

ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ। कुनै आफै निको हुन्छ, कुनैलाई उपचार नभई हुन्न। कुनै पनि संक्रमणले ज्वरो आए कीटाणु अनुसार एन्टिबायोटिक दिनुपर्छ। यसका लागि परीक्षण जरुरी छ। परीक्षणबिना नै एन्टिबायोटिक दिए त्यसले सम्बन्धित कीटाणु या भाइरसविरुद्ध ठीक रूपमा काम गर्दैन। भविष्यमा ती व्यक्तिमा एन्टिबायोेटिक रेसिस्टेन्स (शरीरको रोगसँग लड्ने क्षमतामा ह्रास) भई मृत्युसमेत हुन सक्छ।

नेपालमा धेरै व्यक्तिले परीक्षण र सिफारिसबिनै एन्टिबायोटिक प्रयोग गर्छन्। स्वास्थ्य संस्थामा समेत एन्टिबायोटिक प्रभाव परीक्षण (एन्टिबायोटिक ससेप्टिबिलिटी टेस्ट) बिना नै उपचार हुनाले धेरै बिरामीमा रेसिस्टेन्स हुने गरेको विज्ञहरू बताउँछन्।

अर्कातिर बिरामी आफैंले रुघाखोकी लाग्यो कि आफैं एन्टिबायोटिक किनेर खाने, फार्मेसीले पनि बिरामीलाई एन्टिबायोटिक दिइहाल्ने प्रवृत्तिले रेसिस्टेन्स बढेको चिकित्सकहरू बताउँछन्।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेका अनुसार वीर अस्पताल रेफर भएर आइपुग्ने बिरामीले पहिल्यै आफुखुसी फार्मेसीले दिएको एन्टिबायोटिक खाइसकेका हुन्छन्। त्यस्तो एन्टिबायोटिकको परीक्षण गरिएको हुँदैन।

फार्मेसीबाट लिइएको एन्टिबायोटिक पूरा डोज नखाने कारणले पनि समस्या निम्तिने गरेको गैरे बताउँछन्। नेपालका सरकारी तथा निजी स्वास्थ्य संंस्थाहरूमा प्रचलनमा आएका बाहेक नयाँ संक्रमणको परीक्षण गर्ने चलन अभ्यास नभएको गैरे बताउँछन्।

‘यति धेरै भाइरस, फंगस र कीटाणु छन्, जुन परीक्षण गरेर साध्यै छैन,’ उनले भने। जनता र फार्मेसीहरूमा एन्टिबायोटिकको प्रयोगबारे सचेतना नहुनु नै अहिले पनि चुनौती रहेको गैरे बताउँछन्।

उनी भन्छन्, ‘वीर अस्पतालमा पहिल्यै जथाभाबी एन्टिबायोटिक प्रयोग गरेपछि आएका बिरामी धेरै हुन्छन्, यस्तो चलनले ठिक उपचारमा ढिलाइ भइसकेको हुन्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले नेपालमा धेरैजनामा देखिएको नयाँ ज्वरोको समेत परीक्षण गर्ने चलन नभएको बताए। ‘कम्तीमा धेरैजनामा ज्वरो देखिएपछि कीटाणु या भाइरस खोजी गर्ने व्यवस्था हुनुपर्छ, त्यो नेपालमा अहिले पनि छैन,’ उनले भने।

यो खोजीको कमीले अहिले पनि विभिन्न मौसममा देखिने संक्रामक ज्वरोहरू अस्पतालबाट निस्कने बेलासम्म पहिचान हुन नसकेको पुनको दाबी छ।

उनी भन्छन्, ‘अहिले टाइफाइड, डेंगी, कोभिड परीक्षण हुन्छ, इन्फ्लुएन्जामा पनि कुनचाहिँ हो भनेर खोजी हुनुपर्छ,’ उनले भने।

 कुनै पनि संक्रमणमा एन्टिबायोटिक ससेप्टिबिलिटी परीक्षण नहुँदा कुनै पनि नयाँ रोग आए ठुलो चुनौती बन्न सक्ने पुन बताउँछन्।

नेपालमा ससेप्टिबिलिटीबिना नै एन्टिबायोटिकको प्रयोगले रेसिस्टेन्स बढ्दै गएको छ। रेसिस्टेन्स बढ्दै गए भविष्यमा कुनै पनि एन्टिबायोटिकले कामै नगर्ने समस्याले नेपाल मात्र नभई विश्वभरनै संंकट आउने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका माइक्रोबाइयोलोजिस्ट डा. मेघराज बन्जारा बताउँछन्।

नेपालमा अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्र, निजी साना स्वास्थ्य केन्द्र, कतिपय विकटका जिल्ला अस्पतालहरूमा समेत एन्टिबायोेटिक ससेप्टिबिलिटी जाँच गर्ने व्यवस्था छैन।

सरकारको क्षमताअनुसार सबै स्वास्थ्य केन्द्रमा ल्याब तथा जनशक्तिको व्यवस्थापन गर्न सम्भव नभएकाले एन्टिबायोटिकको परीक्षण हुन नसकेको देखिन्छ। तर यसको विकल्पमा सरकारले हरेक वर्ष छुट्टै निर्देशिका बनाउन सक्छ।

प्रचलित रोगहरूमा दिइने एन्टिबायोटिकको पुनरवलोकन गरी गाइडलाइन बनाउने र त्यो निर्देशिका हरेक स्वास्थ्य संस्थाले पालना गरे रेसिस्टेन्सको दरलाई घटाउन सकिन्छ।

नेपालमा ससेप्टिबिलिटी परीक्षणबिना धेरै एन्टिबायोटिक प्रयोग भएकै कारण धेरैमा जैविक प्रतिरक्षा प्रणाली बढेको भए पनि यसको तथ्यांक बाहिर नआइसकेको डा. बन्जाराले बताए। तर केही अस्पतालले भने एन्टिबायोटिक रेसिस्टेन्सको अध्ययन गरिसकेका छन्। 

प्रकाशित: २४ मंसिर २०८० ०१:३९ आइतबार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल एन्टिबायोटिक परीक्षण नहुँदा गम्भीर समस्या