स्वास्थ्य

लैगिक हिंसाले मानसिक समस्या बढ्यो

कुनै पनि हिंसा निरन्तर भएमा महिला, बालबालिका या पुरुष सबैलाई कुनै न कुनै प्रकारको मानसिक रोगहरू लाग्न सक्छन्। नेपालमा पनि महिलामा हुने बिभिन्न हिंसाका कारण मानसिक रोग लाग्ने गरेको मानसिक रोगीहरूको पुनर्स्थापना तथा उपचार गरिरहेको गैरसरकारी संस्था कोशिशले जनाएको छ।

आज शुक्रवार राजधानीमा महिला हिंसाले जन्माउने ‘मनोसामाजिक समस्या’ विषयक गोष्ठीको क्रममा उनीहरुले यस्तो औल्याएका हुन्। कोशिस संस्थाका अध्यक्ष मातृका देवकोटाका अनुसार नेपालमा विद्यमान लैगिक हिंसाको कारण बिभिन्न मानसिक समस्या बढ्दै गएका छन्। एन्जाइटी, डिप्रेसन सुरु हुने र समयमै निदान तथा उपचार नभएमा उनीहरुले नेपालमा लैगिक हिंसा झेलेका मध्ये ६९ प्रतिशतमा मानसिक समस्या पाइएको एक तथ्याकंले औँल्याएको छ।

प्रधानमन्त्री कार्यालयले सन् २०१२ मा गरेको एक अध्ययन अनुसार प्रश्न सोधिएका मध्येमा ४ सय ३२ जनाले लैगिक हिंसाको अनुभव बताएका थिए भने ती मध्येमा ६९ प्रतिशतमा मनोसामाजिक समस्या पाइएको थियो। मनोसामाजिक समस्या भएका ७ प्रतिशतले आत्महत्याको प्रयास गरेका थिए।

मन आत्तिने, निदाउन नसक्ने, अनावश्यक डर आउने, चाँडो रिसाउने, धेरै चिन्ता गर्ने, निर्णय लिन नसक्ने, साथीभाइसँग घुलमिल गर्न नसक्ने जस्ता लक्षणहरू कुनै न कुनै प्रकारको मानसिक रोगको लक्षण हुन्।

संस्थाको आयोजनामा शुक्रवार नाटक मार्फत कसरी महिला हिंसाले मानसिक समस्या निम्ताउँछ भन्ने प्रस्तुति दिइएको छ। नाटकका महिला पात्रहरू जसको समस्या घरपरिवार, आफन्त र समाज कसैले पनि नसुनेको कारण भित्रभित्रै गुम्सिएर मानसिक रोगमा परिणत भएको औँल्याएको छ।

नाटकमा महिला पात्रहरूले आफ्नो समस्या कसैले  नसुनेको क्रन्दन गरिरहेका हुन्छन्। यही क्रममा पुरुषमा विद्यमान समाजमा पुरुषहरूले रक्सी÷जुवाको लतले घरेलु हिंसा गर्ने,परम्परागत मूल्य मान्यताको कारण महिलालाई वस्तु सरह व्यवहार गरी कुटपिट गाली गलौच, अपमान गर्छन्। यति मात्र नभई शारीरिक हिंसा गर्छन्।  घरमा हुने कुटपिटको घटनालाई घरेलु हिंसाको रुपमा मात्र लिने समाजले नसुन्दा उल्टै हिंसा थप्ने मनोवृत्ति पुरुष पात्रमा हुन्छ। 

जस्ता घरेलु हिंसाले मनोसामाजिक रोग लागेको औँल्याएको छ। नाटककी पात्र मनीषाको बालविवाहपछि पराई घरमा लोग्नेले गर्ने हिंसाको कारण उनमा टोलाउने, डराउने जस्ता मानसिक रोगको लक्षण देखिएको र स्थानीय छिमेकीको सहयोगमा वडा कार्यालय, प्रहरीले कारबाही गरेको दृश्य उजागर गरिएको छ।

कुनै पनि हिंसा भएमा प्रहरीमा उजुरी  गर्ने, परिवार, समाज मिलेर लैगिक हिंसा न्यूनीकरणमा सहयोग पुर्‍याउने, समाजमा विद्यमान महिला माथिका बिभिन्न परम्परागत तथा आर्थिक विभेदको अन्त्य जस्ता कारक कुराहरूमा कमी ल्याउन सकेमा हिंसा कम हुने र मानसिक रुपमा स्वस्थ समाज निर्माण हुने महिला,बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले बताए। 

राज्यले दिएको सेवा सुविधाको बारेमा महिलामा जानकारी छैन 

महिला,बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा विद्यमान लैगिक विभेदको अन्त्य गर्न राज्यले प्रयास गरेको बताए। विभेदमा कमी ल्याइ महिलालाई सम विकासमा पुर्‍याउन कुल बजेटको ३० प्रतिशत बजेट महिला विकाससंग सम्बन्धित  रहेको उल्लेख गरे।

तर यो बजेटसँग जोडिएका सेवा, कार्यक्रमको उपभोग गर्न अहिले पनि बहुसङ्ख्यक महिलाहरु वञ्चित भएको बताए। ‘धेरै महिलाहरूलाई सरकारले प्रदान गर्ने कार्यक्रमको बारेमा नै जानकारी छैन र सेवाबाट वञ्चित भएका छन्’ उनले भने। नेपालमा लैगिक हिंसाको अन्त्यको लागि महिला र पुरुषमा समान शिक्षा, आर्थिक रुपमा आत्मनिर्भर हुनु पर्ने मन्त्री आचार्यले बताए।

प्रकाशित: २२ मंसिर २०८० १२:२० शुक्रबार

प्रधानमन्त्री कार्यालय लैगिक हिंसा मानसिक समस्या महिला बालबालिका पुरुष कोशिश