स्वास्थ्य

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। महानगरपालिका २४ मा आज कार्यक्रम उद्घाटन गरिएको हो।

महानगर प्रमुख रेनु दाहालले कार्यक्रम उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन्। कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उनले बताइन्। उनले भनिन्, ‘थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ।’

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ। महानगरभित्रका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ।

पहिलो चरणमा महानगरका १४ वडामा यो कार्यक्रम लागु गरिने महानगरको जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार बाँकी १५ वडामा दोस्रो चरणमा कार्यक्रम सञ्चालन गरिने छ।

पहिलो र दोस्रो चरणमा २५÷२५ दिन स्वास्थ्यकर्मी जनताका घरदैलोमा पुग्नेछन्। यस क्रममा आएका जनताका समस्या समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिए। उनका अनुसार कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन्। अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन्। सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइने छ।

करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताए। महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन्।

वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो। यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो।

प्रकाशित: २० मंसिर २०८० ०७:४२ बुधबार

चितवनको भरतपुर महानगरपालिका मेयर स्वास्थ्य कार्यक्रम