स्वास्थ्य

जोगी दह आँखा शिविरमा चार सय बिरामीको उपचार

शिविरमा सर्वसाधारणको आँखा जँचाउँदै चिकित्सक । तस्बिरः महेश्वर

त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन्। जोगी दहस्थित बर्गाछीमा शनिबार आयोजित एकदिने शिविरमा स्थानीय जोगी दह माविमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावक र सर्वसाधारणले आँखा उपचार पाएका हुन्।

त्रियुगा १ का वडाध्यक्ष मनोज चौधरीले शिविरमा विद्यार्थी, अभिभावक र सर्वसाधारणसहित चार सय २० जनाले निःशुल्क उपचार सेवा पाएको बताए। उनका अनुसार एक सय ९८ जना विद्यार्थी र दुई सय ३१ जना सर्वसाधारण आँखा उपचारबाट लाभान्वित भएका छन्। उनीहरू सबैलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि वडाध्यक्ष चौधरीले बताए।

वडा कार्यालयको आयोजना र नेपाल नेत्रज्योति संघ गाईघाट तथा मधेस प्रदेश सिराहास्थित सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोगमा शिविर आयोजना गरिएको हो। चौधरी आँखा अस्पतालका शिविर सुपरभाइजर राजकुमार यादवले आपूmसहित प्राविधिक टोलीले शिविरमा आँखा परीक्षण गर्नुका साथै प्राथमिक उपचारसमेत गरेको बताए। यादवले १२ विद्यार्थीसहित ५७ जनाका आँखामा खराबी देखिएकाले शल्यक्रिया गर्नुपर्ने बताएका छन्।

वडाध्यक्ष चौधरीले शिविरमा आँखा जचाउनेमध्ये सबभन्दा बढी मोतियाविन्दुका फेला परेको बताए। उनीहरूको शल्यक्रिया गर्नुपर्ने भएकाले त्यसका लागि पनि वडाले सबै व्यवस्था मिलाउने चौधरीले बताए।

शिविरमा बालबालिका विद्यार्थीलाई पनि प्राथमिकतामा राखेर आँखा परीक्षण गराइएको उनले बता । आँखा बिग्रने कुरा पाको उमेरमै भन्ने नहुने भएकाले बालबालिका र विद्यार्थीलाई पनि शिविरमा बोलाइएको उनको भनाइ छ। आँखा रोग सबै उमेर र समूहका मानिसलाई लाग्ने भएकाले विद्यार्थीको पनि आँखा परीक्षण गराइएको वडाध्यक्ष चौधरीले बताए।

प्रकाशित: १७ मंसिर २०८० ०४:०५ आइतबार

त्रियुगा नगरपालिका जोगी दह आँखाको निःशुल्क उपचार उपचार सेवा मनोज चौधरी आँखा उपचार