स्वास्थ्य

चीनका बालबालिकामा फैलिएको अज्ञात रोगको जोखिममा नेपाल

फोटो :सीएनएन

केही सातादेखि चीनका बालबालिकाहरूमा फैलिएको श्वास/प्रश्वास सम्बन्धी अज्ञात रोगको जोखिम नेपालमा पनि रहेको विज्ञहरूले औँल्याएका छन् ।

दुई सातादेखि  चीनको बेइजिङ तथा आसपासका क्षेत्रका बालबालिकाहरूमा निमोनिया जस्तै लाग्ने रोग अकस्मात् फैलिएपछि अस्पतालहरू भरिभराउ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

चीनको आधिकारिक निकायका अनुसार बालबालिकामा ज्वरो आउने,रुघाखोकी लाग्ने र श्वास–प्रश्वासमा बाधा हुने जस्ता लक्षण देखिएका छन्। बिरामीहरूको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ को भाइरस, प्याथोगन्स,इन्फुलुन्जा र सिन्कीस्थिर भाइरस देखिएको जनाएका छन्।

चीनका बालबालिकामा अप्रत्याशित रुपमा श्वास/प्रश्वास सम्बन्धी रोग फैलिए लगत्तै विश्व स्वास्थ्य संगठनले चासो व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनलेआफ्नो वेबसाइट मार्फत सूचना जारी गर्दै अज्ञात रुपमा फैलिएको निमोनियाँको कारण, फैलिएका क्षेत्रहरू र थप विवरणको रिपोर्ट माग गरेको छ। सास २,सिंक्टीभाइरल भाइरस, श्वास–प्रश्वास सम्बन्धी कतै कीटाणु, कोभिड २ भाइरस समेत देखा परेको र त्यसको असर पाका उमेरका मानिसमा भन्दा बढी बालबालिकामा परेकोले यसमा सचेत हुन आग्रह गरेको छ।

चीनमा आकस्मिक ठूलो संख्यामा फैलिएपछि भारतीय सरकारले सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन अपिल गरेको छ भने आम जनतालाई सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल सरकारले भने अहिलेसम्म कुनै पनि आधिकारिक सूचना जारी गरेको छैन।चीनमा यस अघि फैलिएको कोभिड १९ को असर नेपालमा परेको कारण यो अज्ञात रोगको पनि जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा. शेर बहादुर पुनले बताए। ‘कोभिडको असर जुन प्रकारले नेपालमा पर्‍यो, अहिले नपर्ला भन्न सकिँदैन’ उनले भने।हाल चीनको बेइजिङ तथा अन्य क्षेत्रमा फैलिसकेको र थप कुन क्षेत्रमा फैलिने क्रम जारी रहेको उनले बताए।

चीन छिमेकी राष्ट्र हुनु र त्यहाँवाट विभिन्न मानिसहरू नेपालमा आवात–जावात गर्ने कारण नेपालमा पनि  जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापनका डा. समीर कुमार अधिकारीले बताए।उनका अनुसार नेपालमा भ्रमण,व्यावसायिक र व्यापारिक कामले मानिस आउने/जाने क्रम रहेकोले जोखिम छ, यसको साथै यस अघि फैलिएको कोभिड १९ नेपाल सहित विश्व भरी फैलिएका घटनाको कारण पनि चीनमा आउने जुनसुकै नयाँ रोगको जोखिममा नेपाल पनि हुने डा. अधिकारीको तर्क छ। 

‘विश्व आवात/जावातको हिसावले सानो गाउँ जस्तै भइसक्यो,एक ठाउँमा देखिएको सरुवा रोग विश्व भरी सजिलै फैलिन्छ’ उनले भने। सन् २०२० मा फैलिएको कोभिड १९ को  असर देखेपछि नेपालमा कुनै पनि छिमेकीमा फैलिने हरेक रोगको जोखिम छ भन्ने कुरा उसै आङ्कलन गर्न सकिने उनकोे भनाइ छ। तर अहिलेसम्म त्यो रोगको प्रकृति, असर, फैलिनुको कारणको बारेमा विस्तृत विवरण नआएसम्म कहाँसम्म असर पर्छ भन्ने बारेमा यकिन गर्न नसकिने अधिकारीले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उपचारात्मक महाशाखाका प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले चीनमा फैलिएको श्वास/प्रश्वास सम्बन्धी रोगको कारण बारेमा विस्तृत विवरण नआएसम्म जोखिमकाृेृ बारेमा यकिन गर्न नसकिने बताए।उनले भने, ‘ रोगको खास कारण के हो भन्ने बारेमा विस्तृत विवरण आउनु पर्छ, त्यसपछि मात्र नेपालमा कति जोखिम छ भन्न सकिन्छ’।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले सरकारले अहिलेसम्म जोखिमको विषयमा यकिन नगरिसकेको बताए। ‘कति जोखिम छ भनेर भनिहाल्ने अवस्था छैन’ उनले भने।उनले अनुसार महाशाखाले अहिलेसम्म कुनै पुर्वसचेतनाको सूचना जारी पनि नगरेको जनाए।

प्रकाशित: १४ मंसिर २०८० १२:३७ बिहीबार

चीनका बालबालिका