स्वास्थ्य

चिया बगान र नजिकका बस्तीमा घाँटी र फोक्सोको क्यान्सर

इलामको चिलिमकोट चिया बगाननजिकै भलायटार बस्तीकी ४६ वर्षीया विष्णु भारतीलाई पाँच वर्षअघि नै घाँटीको क्यान्सर पुष्टि भयो। घाँटीको पछिल्लो भागमा देखिएको गाँठो देखाउन नजिकको अस्पताल जाँदा क्यान्सर पुष्टि भएको थियो। उनको झापाको बिर्तासिटी अपतालमा शल्यक्रिया गरेपछि भरतपुर रेफर गरिएको थियो। चार महिना भरतपुरको उपचारपछि उनको स्वास्थ्य सामान्य बन्दै गएको हो। उपचारपछि पनि उनको मुखमा र्‍याल नआउने हुँदा खाना निल्न कठिन भइरहेको छ। थप उपचारका लागि अस्पताल जान खर्च नभएको विष्णुमायाका पति चन्द्र भारतीले बताए।

‘क्यान्सर त निको भयो, मुख राम्रोसँग खोल्न र खाना निल्न अझै अप्ठेरो छ, डाक्टरले आउन भनेको समयमा पैसा नभएर जान सकेनौं,’ उनले भने।

भारती क्यान्सर हुनुअघि चिलिमकोट चिया बगानमा कार्यरत थिइन्। क्यान्सर भएको थाहा पाएपछि कम्पनीले उनलाई निकाला गरेको हो। क्यान्सर भएपछि उपचारमा नौ लाख रूपैयाँ खर्च भएपछि अरू खर्च जोहो गर्नै नसकेका भारती दम्पत्तिले सुनाए।

भारतीले अहिले पनि क्यान्सरविरुद्ध प्रतिरक्षा क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि किनेर खाइरहेकी छिन्। उनीजस्तै यो चिया बगान र बस्तीमा घाँटी र फोक्सोको क्यान्सर हुने धेरै छन्।

यो अवधिमा धेरैले ध्यान्सरबाट ज्यान गुमाए तर उनी क्यान्सर लागेपछि बाँच्न सफल एक्ली हुन्। ‘भरतपुरमा बिरामी देख्दा बाँचेर घर फर्किन्छन् जस्तो लागेको थिएन, नयाँ जीवन पाएकी हुन्,’ पति चन्द्रले भने।

चिलिमकोट चिया बगानमा काम गर्ने भलायटारका मने मगर, उनकै बहिनी सीता मगरको पाँच वर्ष पहिला घाँटीकै क्यान्सरको कारण मृत्यु भइसकेको छ। सोही बस्तीकै मिलन राइको फोक्सोको क्यान्सरले मृत्यु भयो। चिया मजदुर संघ स्वतन्त्रका अध्यक्ष बालमुकुन्द मुण्डाका अनुसार बगानभित्र र बगाननजिकका धेरैलाई घाँटी र फोक्सोको क्यान्सर पुष्टि भएको छ।

तुलसा तामाङको पनि क्यान्सरले नै मृत्यु भइसकेको छ। यीवाहेक जानकारीमा नआएका अन्यलाई पनि क्यान्सर भएको र केहीको मिर्गौला फेल भइ मृत्यु भएको र केहीले उपचार गरिरहेको मुण्डाले जानकारी दिए।

माई नगरपालिका स्वास्थ्य शाखाका अनुसार हालै मात्र यो नगरपालिकाका वडा नम्बर ३ र वडा नम्बर ९ का बासिन्दामा बढी मात्रामा घाँटी तथा फोक्सोको क्यान्सर पुष्टि भएपछि सहयोग सिफारिसका लागि निवदेन दिनेहरू धेरै आएका छन्। यी दुवै वडा चिया बगान र बगाननजिकका बस्तीमा पर्छन्। नगरपालिकाको गत आर्थिक वर्षमा मात्र क्यान्सरको उपचार सिफारिस लिने ३८ जना छन्। उनीहरूमध्ये १४ जना चिया मजदुर र २४ जना कृषि मजदुर छन्।

मजदुरले बगानमा राखिने विष र भिटामिन सुरक्षाका कवजविना नै छर्केको र वर्षात्को मौसममा छर्किंदा मजदुरमा फोक्सो तथा घाँटीको क्यान्सर भएको हुनसक्ने मजदुर नेता मुण्डाको अनुमान छ। उनी भन्छन्, ‘कम्पनीले सुरक्षाको सामग्री विषादी छर्किदा प्रदान गरे पनि गर्मीको कारण मुखमा मास्क लगाउँदैनन्।’

इलामकै सूर्याेदय नगरपालिकाको तथ्यांकअनुसार गत आर्थिक २०७९ देखि हालसम्म वर्षमा मात्र ५२ वटा क्यान्सर पालिकामा दर्ता हुन आएका छन्। तीमध्येमा मुख तथा फोेक्सोको मात्र १७ छन्।

माइनगरपालिकाका अनुसार यो पालिकाको वडा नम्बर ९ र ३ मा बस्तीमा बढी मात्रामा क्यान्सर पाइएको र यी बस्ती बगाननजिक रहेको पाइएकोले बगानको प्रभाव हुन सक्ने माई नगरपालिकाका जनस्वास्थ्य इन्चार्ज पुस्कर कट्टेलले बताए।

‘अन्य वडाको तुलनामा बगाननजिकका वस्तीहरूमा समस्या बढी देखिन्छ,’ उनले भने। बस्तीमा कृषकहरूले खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने ता तालिम र सुरक्षाको सामग्रीविना नै विषादी छर्किने गरेको कारण फोक्सो र घाँटीको क्यान्सर बढी भएको हुनसक्ने उनको अनुमान छ।

बगानमा कडा खालका विषादी प्रयोग भएपछि जनस्वास्थ्य शाखाले चिया बगानका व्यवस्थापकसँग यसको असरबारे छलफलसमेत गरेको इन्चार्ज कट्टेलले बताए। विषादीले घाँटी र फोक्सो तथा श्वासप्रश्वास प्रणालीको क्यान्सर हुने कट्टेले बताउँछन्।

फिक्कल, कन्याम, हल्दीबारी बुधबारेतिर बढी मात्रामा क्यान्सर रोगी भएको अन्य नगरपालिकाबाट पनि यसको बारेमा जानकारी पाएको उनले बताए। माई नगरपालिकाका मेयर खम्बासिंह लिम्बूले यो नगरपालिकाभित्र कृषक तथा मजदुरहरूमा बढी मात्रामा क्यान्सर साथै अपांगता भएका शिशु जन्मिने समस्यासमेत देखापरेको बताए। तर कारण के हो भन्ने विषयमा यकिनका लागि अहिलेसम्म अनुसन्धान नभएको उनको भनाइ छ।

चिया बगान र नजिकका बस्तीहरूमा क्यान्सरको संख्या बढी पाइएकाले चिया बगानको विषको असर हुन सक्ने स्वास्थ्य इन्चार्ज कट्टेलको अनुमान छ। चिया बगान र बगानबाहिरका बस्तीहरूमा धुमपान, मध्यपानको चलनचल्ती धेरै भएको हुनाले पनि क्यान्सरको कारण यही हो भन्ने अवस्था नभएको उनीहरू बताउँछन्।

बस्ती र बगान सबैतिर क्यान्सरको संख्या बढेकोले पछिल्लो समय प्रयोग हुने विषादीको असरले हुन सक्ने अनुमान रहेको सूर्योदय नगरपालिका इलामका स्वास्थ्य इन्चाार्ज रविन खत्रीले बताए। उनी भन्छन्, ‘यसका लागि छुट्टै अनुसन्धान हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २६ कार्तिक २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App